नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वार्टर बर्दीबासको जनहित कार्यक्रमअन्तर्गत श्री नं. ९ बाहिनी अड्डाअन्तर्गतको गोरखनाथ गणले सोनमा गाउँपालिका– २ स्थित श्री सरस्वती जनता मावि विद्यालयलाई सुविधासम्पन्न चारकोठे छात्रा शौचालय बनाइदिएको छ ।
आन्तरिक स्रोतबाट करिब दुई महिनाको नेपाली सेनाको परिश्रम तथा स्रोत र साधनले बनाइएको सो शौचालय आइतबार मध्यपूर्वी पृतनाका पृतनापति उपरथी कृष्णबहादुर जिसीको हातबाट विद्यालयका प्रधानाध्यापक राजकुमार साहलाई हस्तान्तरण गरिएको हो । नं ९ बाहिनीका बाहिनीपति सहायक रथी युवराज कार्की, महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, गोरखनाथ गणका गणपति प्रमुख सेनानी विनोदविकास पाठक तथा विभिन्न सुरक्षा निकाय प्रमुखहरूसमेतको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी सो छात्रा शौचालय हस्तान्तरण गरिएको हो ।
विद्यालयमा भवन अभावसँगै शौचालय अभावसमेत रहेकोमा छात्राहरूलाई सुविधा हुने गरी नेपाली सेनाको तर्फबाट सहयोगस्वरूप सो शौचालय निर्माण गरिएको हो । शौचालय हस्तातरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित भएका मध्यपूर्वी पृतनाका पृतनापति जिसीले छात्राहरूलाई अत्यन्त आवश्यक रहेको शौचालय सहयोग गर्न पाउनु नेपाली सेनाका लागि शौभाग्यको कुरा भएको बताए । उनले समस्याहरू धेरै रहे पनि सबैको सानो–सानो सहयोगले विद्यालयभित्रका ती अभाव तथा समस्याहरू समाधान हुने भन्दै नेपाली सेनाले भविष्यमा समेत भ्याएसम्मको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भोलिको कर्णधार विद्यालयमा पढ्ने बालबालिकाको उज्ज्वल भविष्यको कामनासमेत गरे ।
यता महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले विद्यालयहरूमा भौतिक संरचनादेखि अन्य विभिन्न अभावहरू रहेकोमा ती समस्याहरू समाधानका लागि स्थानीय तहलाई आग्रह गरे । उनले सामुदायिक विद्यालयहरूमा क्षमताभन्दा बढी बालबालिका अध्ययनरत रहेको बताउँदै सरोकारवाला निकायले भौतिक संरचनादेखि शिक्षक व्यवस्थापनलगायतमा ध्यान दिन आग्रह गरे ।
यता विद्यालयका प्रधानाध्यापक साहले नेपाली सेनाले बनाइदिएको शौचालयप्रति आभार व्यक्त गर्दै यसले छात्राहरूलाई केही हदसम्म राहत पुग्ने बताए । उनले झन्डै दुई हजारभन्दा बढी बालबालिका अध्ययन गरिरहेको सो विद्यालयमा छात्रा मात्र एक हजारभन्दा बढी रहेको बताए ।
विद्यालयमा केही जीर्ण शौचालयहरू भए पनि ती शौचालयहरू प्रयोगका लागि अनुपयुक्त हुनुको साथै विद्यार्थीको क्षमताअनुसार निकै कम थियो । गोरखनाथ गणले ती जीर्ण शौचालयहरूसमेत मर्मत गरिदिएको छ ।