इस्तानबुलका मेयरको पक्राउ र एर्दोगानको त्रास

आइतबार, ९ चैत, २०८१
डिजिटल संस्करण

इमामोलुलाई लामो समयदेखि टर्कीका राष्ट्रपति रेसप तैयप एर्दोगानका बलिया प्रतिद्वन्द्वीका रूपमा हेरिँदै आएको छ 

मार्च २३, २०२५ मा इस्तानबुलका मेयर एकरेम इमामोलु टर्कीका विपक्षी गठबन्धनका राष्ट्रपतिको उम्मेदवार बन्दै थिए । तर, उम्मेदवार हुनु त कता हो कता, उनले आफ्नो स्वतन्त्रता र कलेजको डिग्रीसमेत गुमाए । मार्च १८ मा उनको स्नातक डिग्री इस्तानबुल विश्वविद्यालयले खारेज गरिदियो । एक दिनपछि इमामोलु उनका कर्मचारीसहित पक्राउ परे । इमामोलुलाई लामो समयदेखि टर्कीको सत्तामा रहेका राष्ट्रपति रेसप तैयप एर्दोगानका बलिया प्रतिद्वन्द्वीका रूपमा हेरिँदै आएको छ । यी दुई कदम जुन समयमा चालिएको छ, त्यसले इमामोलुलाई एर्दोगानले आफ्नो २२ वर्षे शासनविरुद्ध गम्भीर खतराको रूपमा हेरेको देखाउँछ । 

इमामोलु पक्राउ परेकै समयवरपर झन्डै १०० भन्दा बढी विपक्षी नेता पक्राउ परेका छन् । पक्राउ पर्नेहरू प्रायः सबै टर्कीको मुख्य विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टी वा आरपिपीका सदस्य हुन् । टर्कीका संस्थापक मुस्तफा केमाल अतातुर्कले स्थापना गरेका आरपिपीका सदस्यमाथि भ्रष्टाचार, आपराधिक संगठन गठन र टर्कीले आतंकवादी समूह घोषणा गरेको कुर्दिस समूह पिकेकेलाई सहयोग गरेकासम्म आरोप लगाइएको छ । रोचक के भने पक्राउ त्यो समयमा आएको छ, जब एर्दोगानको सरकार आफैँले पिकेकेका नेता अब्दुल्लाह ओकालानलाई शान्ति–निर्माताको रूपमा प्रचार गरिरहेको छ । पछिल्लो समय ओकालानले उनको संगठन पिकेके विघटन गर्न आह्वान गरेका छन् । विगत २६ वर्षदेखि टर्कीको जेलमा रहेका ओकालानसँग सामीप्य बढाएर एर्दोगानले कुर्दिस दलसँग नजिकिन खोजेको राजनीतिक विश्लेषकको ठम्याइ छ । यस सम्बन्धलाई राष्ट्रपतिको कार्यकाल बढाउने संवैधानिक संशोधनको लागि समर्थन जुटाउने प्रयासको रूपमा तिनले हेरेका छन् । अन्यथा, वर्तमान संवैधानिक व्यवस्थाअनुसार एर्दोगान पुनः राष्ट्रपति उम्मेदवार हुन पाउँदैनन् । 

के एर्दोगान जीवनभर राष्ट्रपति बन्न चाहन्छन् ?
टर्कीको संविधानले राष्ट्रपतिको कार्यकाल पाँच वर्षको अवधिको दुईपटकमा सीमित गरेको छ । एर्दोगान तीनपटक राष्ट्रपति निर्वाचित भइसकेका छन् । तर, उनले आफ्नो तेस्रो कार्यकाल संविधान संशोधनअनुसार पहिलो हुने तर्क दिएका छन् । नयाँ व्यवस्थाले गरेको दुई कार्यकालको सीमा हटाइयो भने उनको चौथो र अझ त्योभन्दा बढी उम्मेदवारीको बाटो खुल्नेछ । अहिलेका लागि एर्दोगानको योजनाको मुख्य बाधा इमामोलु देखा परेका छन् । पछिल्ला मतसर्वेक्षणमा इमामोलु राष्ट्रपति एर्दोगानभन्दा उल्लेखनीय रूपमा बढी लोकप्रिय देखिन्छन् । यसै परिपे्रक्ष्यमा इमामोलुको ३१ वर्ष पुरानो डिग्री खारेजीलाई हेर्नुपर्छ । यो प्रयासलाई उनलाई राष्ट्रपति चुनावमा अयोग्य ठहर्याउने प्रयासका रूपमा हेरिनुपर्छ । टर्कीको संविधानअनुसार राष्ट्रपतिको उम्मेदवार कम्तीमा पनि स्नातक तहसम्म पढेको हुनुपर्छ । 

इमामोलुविरुद्ध लगाइएका अन्य आरोप यसै लक्ष्यलाई ध्यानमा राखेर लगाइएको देखिन्छ । ती आरोप पुष्टि भए यसले उनलाई मेयर पदसहित कुनै पनि सार्वजनिक पद धारण गर्नबाट रोक्नेछ । यसबाट एर्दोगानले एक तीरबाट तीन निसाना लगाउनेछन् । एक, इमामोलुको बहिर्गमनपछि उनले आफैँले चुनेको निजामती कर्मचारीलाई नियुक्त गरेर इस्तानबुलको मेयर पद पुनः हासिल गर्न सक्छन् । दोस्रो, विपक्षी सांसदलाई यस्तै कारबाहीको डर देखाएर संवैधानिक परिवर्तन अगाडि बढाउन सक्छन् । र, अन्तिममा भविष्यको राष्ट्रपतीय चुनावमा आफ्नो बलियो प्रतिद्वन्द्वीलाई उम्मेदवारी दिनबाटै रोक्न सक्षम हुनेछन् ।

सत्ता कब्जा र कार्यकाल विस्तारको एर्दोगानको यस प्रयासले टर्कीको राजनीतिक प्रणाली पनि अहिलेको ‘त्रुटिपूर्ण लोकतन्त्र’बाट भ्लादिमिर पुटिनको रुसजस्तै ‘निर्वाचित तानाशाही’मा बदलिनेछ । त्यसैले, आरपिपी नेता ओजगुर ओजेलले इमामोलुविरुद्धको पक्राउलाई ‘आफ्नो नेता चयन गर्न पाउने जनताको अधिकारविरुद्धको कु’का रूपमा वर्णन गरे ।

स्वतन्त्र चुनावको सम्भावना सकिएको हो ?
चुनावको समयमा लोकप्रिय नीतिहरूलाई प्रवद्र्धन गर्ने र विपक्षी दलविरुद्ध मिडिया तथा चुनावी अभ्यास प्रयोग गर्ने सन्दर्भमा एर्दोगान उस्ताद मानिन्छन् । विगत दुई दशकमा संयोग वा गलत हर्कतका कारण उनले कमजोर प्रतिद्वन्द्वीहरूको सामना गर्नुपर्यो । यही नै उनको चुनावी सफलताको प्रमुख कारण रह्यो । पूर्वनेता केमल किलिकदारोलुको नेतृत्वमा आरपिपीले एर्दोगानको ‘न्याय र विकास पार्टी’(एके)विरुद्ध राष्ट्रपति, संसदीय र नगरपालिका चुनावमा लगातार हार बेहोर्यो ।

सन् २०२३ को राष्ट्रपति चुनावअघि मतसर्वेक्षणहरूले किलिकदारोलुभन्दा उनकै पार्टीका इमामोलु राष्ट्रपति एर्दोगानभन्दा बढी लोकप्रिय रहेको देखाउन थाले । यस खतराबाट जानकार एर्दोगानले कदम चालिहाले । चुनावको पाँच महिनाअघि देशको सर्वोच्च निर्वाचन परिषद्लाई कुनै समय ‘मुर्ख’ भनेका आधारमा इमामोलुलाई सार्वजनिक पदमा रहेका अधिकारीको अपमान गरेको आरोपमा अदालतले इमामोलुलाई अढाई वर्षको जेल सजाय सुनायो । फैसला अझै पुनरावेदनमा अड्किरहेको छ, यस मुद्दामा पुनरावेदनले पनि तल्लो अदालतको निर्णय सदर गरिदियो भने इमामोलुले सार्वजनिक पद धारण गर्न पाउनेछैनन् ।

उता, पार्टीभित्रका इमामोलुलाई समर्थन गर्नुको सट्टा किलिकदारोलुले सन् २०२३ मा एर्दोगानविरुद्ध आफैँ उम्मेदवार बन्न जोड दिए । जबकि अघिल्ला दुई राष्ट्रपति चुनावमा आरपिपीमा पार्टी नेताबाहेकका व्यक्ति उम्मेदवार बनेका थिए । पछि किलिकदारोलुले एर्दोगानसँग हारे । पराजयपछि, किलिकदारोलुलाई आरपिपी नेतृत्वबाट हटाइयो । पार्टीका नयाँ प्रमुखले राष्ट्रपतिको उम्मेदवारको रूपमा इमामोलुलाई समर्थन गर्ने बताइसकेका छन् । 

एर्दोगानको घट्दो लोकप्रियता 
एर्दोगानको पार्टी र व्यक्तिगत रूपमा उनको लोकप्रियता घट्नुको एउटा प्रमुख कारक देशको चलिरहेको आर्थिक संकट हो । सन् २०२२ देखि टर्कीको वार्षिक मुद्रास्फीति दर ५० प्रतिशतको आसपास रहेको छ । यसले आमजनताको क्रयशक्तिलाई कमजोर बनाएको छ । सक्षम टर्किस नागरिकहरू राम्रो अवसरहरूको खोजी गर्दै देश बाहिरिने क्रम ह्वात्तै बढेको छ । यो संकट एर्दोगानको आर्थिक नीतिहरूका कारण उब्जिएको अर्थशास्त्रीहरूले औँल्याएका छन् । विशेषगरी, मुद्रास्फीतिसँग जुध्न ब्याजदर घटाउने उनको नीतिले उल्टो असर पारेको छ । परिणामस्वरूप टर्कीको मुद्रा अवमूल्यन जारी छ । पाँच वर्षपहिले एक अमेरिकी डलरको मूल्य पाँच टर्की लिरा थियो भने आज यो ४० लिरा पुगिसक्यो ।

टर्कीमा विपक्षी नेतालाई चुप लगाउन कारावास एक अभूतपूर्व रणनीति बन्दै आएको छ । कुर्दिस समर्थक पिपुल्स डेमोक्रेटिक पार्टीका पूर्वनेता सेलाहत्तिन डेमिर्टास आतंकवादको आरोपमा आठ वर्षभन्दा बढी समयदेखि जेलमा छन् । त्यस्तै उग्र दक्षिणपन्थी भिक्टोरी पार्टीका नेता उमित ओज्दाग एर्दोगानलाई अपमान गरेको र घृणा फैलाएको आरोपमा दुई महिनादेखि जेलमा छन् । यी दुवै नेता एर्दोगानलाई चिढ्याउने नेताका रूपमा परिचित थिए । तर, उनीहरू एर्दोगानको शक्तिका लागि वास्तविक खतरा भने थिएनन् । तर, इमामोलु देशका विभिन्न मतदाता समूहमा व्यापक लोकप्रिय छन् । उनी आफ्नो आकर्षण र सार्वजनिक भाषणमार्फत टर्क राष्ट्रवादीदेखि कुर्दिस मतसम्म आकर्षित गर्न सक्छन् । यही क्षमताका कारण इमामोलुले सन् २०१९ देखि एर्दोगानको पार्टीको गण मानिने इस्तानबुलमा दुईपटक जित हासिल गरे । पहिलोपटक पार्टीले इस्तानबुलमा हार खाँदा एर्दोगानले नतिजा स्वीकार गर्न अस्वीकार गरेका थिए । सर्वोच्च निर्वाचन परिषद्ले चुनाव नै रद्द गर्यो । दोस्रोपटकको निर्वाचन पनि इमामोलुले नै जिते । 

सन् २०२४ मा इस्तानबुलका मेयरको रूपमा पुनः निर्वाचनले एर्दोगानलाई मतपेटिकामा हराउन सक्ने अग्रणी राजनीतिज्ञको रूपमा इमामोलुको प्रतिष्ठा थप बलियो बनायो । उनको गिरफ्तारीको विरोधमा देशका धेरै सहरमा विरोध प्रदर्शन उठेका छन्, जुन पछिल्लो एक दशकमा टर्कीमा बिरलै देखिन्थ्यो । साथै इमामोलुको पक्राउलगत्तै टर्कीको सेयर बजारमा सात प्रतिशत गिरावट देखियो । यस ह्रासलाई लगानीकर्ताले राजनीतिक अस्थिरताको संकेतको रूपमा हेरेका रूपमा बुझिएको छ । तर, पछिल्ला दिनका घटनाक्रमले इमामोलुलाई राष्ट्रपति बन्न लोकप्रियताले मात्र नपुग्ने देखाएको छ । उनले अब मतपत्रबाट रोक्न गरिने न्यायिक तथा अन्य राजनीतिक प्रतिशोधको सामना गर्नुपर्नेछ ।

द कन्भर्सेसनबाट

सुझावित समाचार