कुल ७० मतदाता रहेको समाजमा ६९ जनाले गरे मतदान
नेपाल बालसाहित्य समाजको अध्यक्षमा विजयराज आचार्य निर्वाचित भएका छन्। शनिबार काठमाडौंमा भएको मतदानमा आचार्यले ४२ मत पाउँदै निर्वाचित भएको निर्वाचन संयोजक डा. शैलेन्दुप्रकाश नेपालले जानकारी दिए। उनका प्रतिद्वन्दी डा. शशि थापा पण्डितले २७ मत पाइन्।
निर्वाचित भएसँगै आचार्यले समाजलाई बालसाहित्यकारको साझा संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘यस समाजलाई सम्पूर्ण बाल साहित्यकारहरूको एउटा साझा संस्थाको रूपमा विकास गर्दै लैजाने र सातै प्रदेशको समितिलाई मजबुत ढंगले अगाडि बढाउनेछु,’ नवनिर्वाचित अध्यक्ष आचार्यले भने, ‘हरेक वर्ष हुने राष्ट्रिय सम्मेलनलाई सार्कस्तरीय बनाउन पहल गर्नेछु ।’
राष्ट्रिय सम्मेलनलाई सार्कस्तरीय सम्मेलनमा स्तरोन्नति गर्ने र अन्तर्राष्ट्रिय स्तरका साहित्यकारबाट पेपर प्रस्तुति दिने प्रबन्ध मिलाउने प्रयास गरिने उनकाे भनाइ छ। ०४४ साल असोज ८ गते स्थापना भएको नेपाल बालसाहित्य समाज नेपाली बालसाहित्य र सर्जकहरूको अभिलेखीकरण, संरक्षण र प्रवर्द्धन गर्दै आएको गैरनाफामूलक संस्था हो।
नयाँ कार्यसमितिमा को–को निर्वाचित भए ?
नयाँ कार्यसमितिका लागि चैत ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका थियो। उक्त दिन महासचिवमा विष्णुकुमार खत्री (विष्णु केसी)को मात्र उम्मेदवारी परेसँगै उनी निर्विरोध निर्वाचित भएका थिए।
त्यसैगरी, सचिवमा भानु भट्टराईको उम्मेदवारी परेको थियो । प्रकाशकतर्फ केन्द्रीय सदस्यमा केशव पराजुली, चित्रकारतर्फ अर्पिता शाक्य र महिलातर्फ यशोदा अधिकारीको मात्र उम्मेदवारी परेको थियो। योसँगै यी पदमा उम्मेदवार निर्विरोध निर्वाचित भए।
अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, खुला दुई सदस्य र शिक्षकतर्फ भने दोहोरो उम्मेदवारी पर्यो। निर्वाचन समितिले चैत ७ गते उम्मेदवारी फिर्ताको समय तोकेको थियो। समाजका अधिकांशले सर्वसम्मत नेतृत्वको चयनको प्रयास गरेका थिए। चैत ७ गते शिक्षकतर्फको सदस्यमा कुरा मिल्यो। अनिरुद्र अर्याल र कृष्णप्रसाद नेपालको उम्मेदवारी परेकोमा नेपालले उम्मेदवारी फिर्ता लिएसँगै अर्याल निर्विरोध भएका छन्।
अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, खुला दुई सदस्यमा भने यसअघिका संस्थापक समूह भनेर चिनिएका डा. ध्रुव घिमिरे समूहले कुनै पनि हालतमा आचार्यलाई रोक्ने भन्दै उम्मेदवारी फिर्ता लिएनन्। बरु जसरी पनि हराउने नीतिका साथ चुनावी मैदानमा आचार्यविरुद्ध डा. शशि थापाको प्यानल उभ्यायो। थापाको प्यानल उभ्याउनेमा डा. घिमिरेसँगै यसअघिका वरिष्ठ उपाध्यक्ष कृष्णदीप सिग्देल, पूर्वमहासचिव यशु श्रेष्ठ, सल्लाहकार हरि भण्डारी, निवर्तमान उपाध्यक्षद्वय नवराज रिजाल र डा. कपिल लामिछाने लागेका थिए।
डा. शशि बालसाहित्य समाजमा खासै सक्रिय नरहे पनि शनिबार भएको निर्वाचनमा २७ मत खस्दा घिमिरे समूह खुसी देखिएका थिए। उक्त समूहको उपाध्यक्षमा डा. यादेवी ढकाल, कोषाध्यक्षमा राजेन्द्रभक्त जोशी र सदस्यमा समन श्रेष्ठ र सुशीला ढकाल थिए। कोषाध्यक्षका उम्मेदवार यसअघि दुई कार्यकाल कोषाध्यक्ष भइसकेका व्यक्ति हुन्।
यता आचार्य नेतृत्वमा भने उपाध्यक्षका उम्मेदवार विजयराज न्यौपाने, कोषाध्यक्षमा डा. सीता सुवेदी पन्थी, सदस्यहरूमा क्रान्ति पाण्डे र सन्जोग ठकुरी उम्मेदवार थिए।
उपाध्यक्षतर्फ आचार्य समूहकै विजयराज न्यौपाने ४० मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी डा. यादवी ढकालले २८ मत पाइन्। कोषाध्यक्षमा डा. सीता सुवेदी पन्थीले ४० मत ल्याउँदै विजयी हुँदा उनका प्रतिद्वन्द्वी राजेन्द्रभक्त जोशीले २९ मत प्राप्त गरे।
खुला सदस्यमा क्रान्ति पाण्डे र समन श्रेष्ठ निर्वाचित भए। समन डा. शशि समूहका एक मात्र जित निकाल्ने उम्मेदवार हुन्। समनले ४१ मत पाउँदा क्रान्तिले ३७ मत पाए। यता, सन्जोगले ३० मत पाउँदा सुशीलाले भने २२ मत पाएकी थिइन्। आचार्य समूहलाई निर्विरोध निर्वाचित महासचिव विष्णु केसी, सचिव भानु भट्टराईलगायत सदस्यहरूले समेत सहयोग गरेका थिए। कुल ७० मतदाता रहेको समाजको निर्वाचनमा ६९ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक डाक्टर नेपालले जानकारी दिए।
को हुन् विजयराज आचार्य ?
बालसाहित्य समाजका निवर्तमान महासचिव आचार्य नेपाली बालसाहित्यको क्षेत्रमा समसामयिक युवा पुस्ताका एक प्रतिष्ठित बालसाहित्यकार हुन्। आचार्यले बालसाहित्यको क्षेत्रमा सयभन्दा बढी कृति लेखन, सम्पादन र अनुवाद गरिसकेका छन्।
प्युठानकाे ऐरावती गाउँपालिका– १ स्थायी घर भएका उनी नेपाली बालसाहित्यको क्षेत्रमा ०५८ सालदेखि सक्रिय छन्। आचार्यको पहिलो मौलिक कृति ‘शान्तिको आत्मकथा’ हो। यो कथा ०५९ सालमा प्रकाशन भएको थियाे । आचार्य औपचारिक रूपमा यही कृतिमार्फत साहित्यिक क्षेत्रमा सार्वजनिक भएका हुन्। आचार्यको ‘शान्तिको आत्मकथा’ नेपाली भाषामा मात्र नभईकन नेवारी, मैथिली, थारू, हिन्दी र अङ्ग्रेजी भाषामा समेत अनुवाद भई प्रकाशन भइसकेको छ।
कम्युनिस्ट विचारधाराका पुस्तकहरू प्रकाशन गरेको आरोपमा जनयुद्धकालमा ०५८ साल पुस २८ गते उनी गिरफ्तारमा परी तीन महिनासम्म हनुमानढोकामा हिरासतमा बसेका थिए ।
उनी सर्वोत्कृष्ट बालसाहित्य पुरस्कार २०६० (नेपाल बाल साहित्य समाजबाट), पुष्कर गौतम बालसाहित्य पुरस्कार २०६७, पारिजात सर्वोत्कृट बालसाहित्य पाण्डुलिपि पुरस्कार २०७० (बुबाको माया कृतिको लागि), दिलसरी–दल अतिरिक्त पुरस्कार २०७१ राप्ती साहित्य परिषदद्वारा सम्मान, जनवत-केदार/सुदर्शन बालसाहित्य सम्मान-२०७८, भूपेन्द्र स्मृति साहित्य पुरस्कार- २०८० (साहित्य परिषद् प्युठानद्वारा) सम्मानित भइसकेका छन्।