नेपाल वायुसेवा निगमका जहाज प्रायः ग्राउन्डेड हुनु, समयमै मर्मत नहुनु, पाइलटलाई तयारी अवस्थामा नराखिनुजस्ता लापरबाही किन भइरहेको होला?
निगमको संरचनात्मक व्यवस्थापनमै समस्या देखिन्छ । अहिलेकै संरचना र व्यवस्थापनबाट निगमको सुधार सम्भव देखिँदैन । निगमको संरचनात्मक सुधारका लागि ढिलो भइसकेको छ । नत्र विश्वकै उत्कृष्ट म्यानेजर ल्याए पनि निगमलाई सुधार्न सकिन्न । निगमको संरचना मक्किसकेको छ । त्यो संरचना र व्यवस्थापन नै परिवर्तन आवश्यक छ ।
मक्किसकेको निगमको संरचनात्मक सुधारका लागि के गर्नुपर्ला ?
निगम सुधारका लागि तीन÷चारवटा विकल्प छन् । निगमलाई कम्पनीकरण गर्न जरुरी छ । यसपछि विदेशको कुनै अनुभवी र सक्षम कम्पनीलाई ‘म्यानेजमेन्ट कन्ट्र्याक्ट’मा भित्र्याउन सकिन्छ । वा, कुनै वायसेवा कम्पनीसँग ‘स्ट्राटेजिक पार्टनरसिप’ पनि गर्न सकिन्छ । वा, सरकारले बहुमत सेयर राखेर निगममा निजी क्षेत्र र विदेशी अनुभवी कम्पनीलाई साझेदार बनाउन पनि सकिन्छ ।
राष्ट्रिय ध्वजावाहकलाई डुबाउन खोज्ने निगम नेतृत्व र सञ्चालक समिति कारबाहीको भागीदार बन्नुपर्दैन ?
कुनै व्यक्तिलाई दोष दिनुअघि निगमको संरचना सुधार गरेर हेरौँ । अहिलेकै संरचनामा निगमलाई कसैले चलाउन सक्दैन । एउटा व्यक्तिले केही गर्न सक्दैन । त्यसैले व्यक्तिकेन्द्रित नहोऊँ । यसको संरचनात्मक परिवर्तन गरी अब्बल व्यवस्थापक भित्र्याउनतर्फ लागौँ । निगमको ‘स्ट्रक्चरल रिफर्म’ आवश्यक छ । यसका लागि सबैभन्दा ठूलो जिम्मेवार तालुक मन्त्रालय र सरकार नै हुनुपर्छ । कुनै समय ‘एयर फ्रान्स’लाई ‘स्ट्राटेजिक पार्टनर’का रूपमा भित्र्याएपछि तीन÷चार वर्ष निगम राम्रोसँग चलेको थियो । निगमको उडान युरोपसम्म विस्तार भएको थियो । हामीले एयर फ्रान्सलाई लेखेट्यौँ । एयर फ्रान्स लखेटिएपछि फेरि समस्या आयो । अहिलेसम्म एयर फ्रान्ससँग ‘स्ट्राटेजिक टाइअप’ कायमै हुन्थ्यो भने निगमको हैसियत अर्कै भइसकेको हुने थियो ।