नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

आइतबार, ९ चैत, २०८१
डिजिटल संस्करण

केही वर्षयता रंगमञ्च हुँदै रंगीन पर्दा अर्थात् चलचित्रमा अभिनय गर्ने कलाकारको संख्या बढ्दो छ । अहिले नेपाली चलचित्रको अग्रपंक्तिमा रहेका अभिनेताहरू नाटकघरबाटै उदाउने धेरै छन् । यही सन्दर्भमा रंगमञ्चबाट चलचित्रसम्मको यात्राको विषयमा रंगकर्मीबिच छलफल भएको छ ।

‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ गत बिहीबारदेखि काठमाडौंमा जारी ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को आठौँ संस्करणमा ‘रंगमञ्चबाट रंगीन पर्दा’ शीर्षकमा गरिएको अन्तर्क्रिया कार्यक्रममा अभिनेता तथा नाट्यकर्मी प्रमोद अग्रहरीले रंगमञ्चले आफू र समाजलाई बुझ्न मद्दत गर्नुका साथै कामप्रतिको सम्मान बढाउन तथा अनुशासन सिकाउने बताए ।

‘अभिनय पढ्नैपर्ने विधा, यसमा अध्ययन नभए राम्रो कलाकारिता गर्न सकिँदैन भन्ने मेरो बुझाइ छ । यसले रंगमञ्चबाट ठुलो पर्दामा जान मद्दत गर्नुका साथै अभिनयमा विविधता ल्याउन मद्दत गर्छ । रंगमञ्चलाई छाडेरभन्दा पनि साथै राखेर रंगीन पर्दामा पुग्नेहरू दीर्घायु हुन्छन्,’ अभिनेता अग्रहरीले भने । छलफलका क्रममा उनले आफ्नो नाटकघर हुँदै चलचित्र भवनसम्मको यात्राका विषयमा समेत चर्चा गरे ।

छलफलमा सहभागी अभिनेत्री तथा नाट्यकर्मी सरिता गिरीले चलचित्र र रंगमञ्च दुवै माध्यममा संघर्ष र निरन्तरता आवश्यक रहेको बताइन् । ‘रंगमञ्च चलचित्रसम्म पुग्ने एउटा बाटो हो, किनकि यहाँ आएर अभिनय सिकेका अहिले चलचित्रमा सर्वाधिक खोजिने कलाकार बन्नुभएको छ । तर, चलचित्रमा काम गर्छु भनेर नाटकघर आउनेभन्दा नाटकमा काम गर्ने चलचित्रमा स्थापित हुनुभएको छ । त्यसैले हामीले नाटक हुँदै चलचित्रमा पुग्नुभएका कलाकारको सफलतासँगै उहाँहरूले गर्नुभएको संघर्षलाई बुझ्नु जरुरी छ, त्यसले हामीलाई अगाडि बढ्न प्रेरणा दिन्छ,’ उनले भनिन् ।

अभिनेता तथा नाट्यकर्मी बुद्धि तामाङले रंगमञ्च अभिनयमा आफ्नो भविष्य देख्नेलाई बाटो देखाउने माध्यम बनेको बताए । ‘नाटकमा हामी आफैँले सबै काम गर्छौँ, त्यहाँ हामीलाई निर्देशन गर्ने कोही हुँदैनन् । तर, चलचित्रमा हाम्रो भावलाई निरन्तरता दिन वा हाम्रो अभिनय क्षमतालाई हेर्न क्यामेरापछाडि धेरै बस्नुहुन्छ । त्यसकारण यी दुवै माध्यममा मिहिनेत गर्न सक्नेका लागि सहज र काम गर्न नसक्नेका लागि असहज बनिरहेको छ,’ तामाङले भने ।

छलफलमा नाट्यकर्मी सिर्जना अधिकारीले भनिन्, ‘नाटकमा हामीले आफ्नो अभिनयसँगै आफ्नो सम्पूर्ण आवश्यक तत्त्वलाई मिलाउनुपर्छ भने चलचित्रमा त्यसलाई विचार गर्ने धेरै व्यक्ति हुन्छन् । मलाईचाहिँ जति आफू प्रक्रियामा संलग्न भयो त्यति नै राम्रो लाग्छ, त्यही भएर म नाटकमा काम गर्न सहजता महसुस गर्छु ।’

रंग पत्रकार सुकृत नेपालले सहजीकरण गरेको अन्तर्क्रियामा सहभागी नाट्यकर्मीले रंगमञ्चबाट ठुलो पर्दामा गएकाहरूले अभिनयमा निरन्तरता दिन सक्नेमा जोड दिएका थिए । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा यही चैत ११ गतेसम्म चल्ने उक्त महोत्सवमा ४० देशका ८७ चलचित्र, वृत्तचित्र तथा छोटा चलचित्र सहभागी छन् ।  महोत्सवका अध्यक्ष केपी पाठकले विभिन्न भाषाका चलचित्रहरू एकै ठाउँमा प्रदर्शन हुँदा चलचित्रकर्मीबिच ज्ञान आदान–प्रदान हुनुका साथै विश्वका चलचित्रसँग परिचित गराउने बताए ।

महोत्सवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर दुई किसिमले वर्गीकरण गरिएको छ । दुवैमा ‘फिचर’ र लघुचलचित्रका साथै वृत्तचित्र विधामा अवार्ड वितरण गरिनेछ । महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट हुने चलचित्रलाई एक हजार पाँच सय डलर राशिसहित ‘गौतम बुद्ध अवार्ड’ प्रदान गरिनेछ । यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रबाट कुनै एक चलचित्रलाई ‘अन्तर्राष्ट्रिय चलचित्र समाज महासंघ’को तर्फबाट ‘डन कि होते’ शीर्षकमा पुरस्कार प्रदान गरिनेछ । नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट चलचित्रलाई एक लाख र ट्रफी, उत्कृष्ट छोटो चलचित्र र उत्कृष्ट वृत्तचित्रलाई ५०–५० हजार र ट्रफी प्रदान गरिनेछ  ।

महोत्सवमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको ‘माउन्ट एभरेस्ट अवार्ड’ र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलरको ‘बागमती अवार्ड’ प्रदान गरिनेछ । एआई प्रविधिको चलचित्रलाई पाँच सय अमेरिकी डलरको ‘मञ्जुश्री अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ ।

सुझावित समाचार