जाँतो बोकेर सहर छिरेका भाइकाजी (फोटोफिचर)

शनिबार, ८ चैत, २०८१
डिजिटल संस्करण
जाँतो बोकेर सहर छिरेका भाइकाजी (फोटोफिचर)

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

सहरमा मात्र होइन पछिल्लो समयमा गाउँमा पनि जातोको प्रयोग घट्दै गएको छ । नयाँ पुस्ताले जाँतो बिर्सिँदै गएको बेला धादिङ गजुरीका ६० वर्षिय भाइकाजी श्रेष्ठ भने गाउँबाट जातो बोकेर सहर छिरेका छन्। विगत २ वर्षदेखि जातोमा पिसेको दाल बिक्री गरेर उनले जीविकोपार्जन गरिरहेका छन्। 

पाटन दरबार क्षेत्रको सानो गल्लीमा रहेको एउटा पसलको आडमा उनी जातोमा दाल पिसिरहेको अवस्थामा  भेटिन्छन्। बिहान उनी टंगाल क्षेत्रमा यसैगरी व्यापार गर्छन्। जातोमा पिसेको दालको स्वाद फरक हुने भएकाले ग्राहकले रुचाउने गरेका छन्। गाउँबाटै उनले दालका लागि गेडागुढी झिकाउने गर्दछन्।

दालको व्यापारबाट  भाइकाजी दैनिक आठ सयदेखि एक हजारसम्म आम्दानी गर्छन्। मेलापर्व तथा महोत्सवका बेला उनको व्यापार अझै राम्रो हुने गर्दछ । आम्दानीले उनलाई सन्तुष्टि दिएको छ। 

दैनिक काठमाडौंको गल्लीगल्लीमा जाँतो बोकेर दाल पिस्दै हिँड्नु रहरभन्दा पनि बाध्यता भएको उनी  सुनाउँछन् । भाइकाजी भन्छन्, 'गाउँमा खेती गर्ने मान्छे भेटिनै छाडे, काम गर्ने मान्छे नभएर मैले नी गाउँ छोडेको हुँ।’ व्यापारमा आफूलाई श्रीमती र छोराले पनि साथ दिँदै आएको उनी बताउँछन्।   

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार