म्याग्दीका तीनवटा स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको ३३-११ केभी क्षमताको रातोढुङ्गा सबस्टेसन सञ्चालन भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा निर्माण भएको सबस्टेसन सञ्चालनमा आएको हो।
विसं २०८० माघमा गरिएको परीक्षण सफल भएको उक्त सबस्टेसनबाट आजदेखि नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रले विद्युत् आपूर्ति गर्न थालेको हो । केन्द्रका प्रमुख सत्यनारायण गामीले परीक्षणका लागि सबस्टेसनबाट विद्युत् आपूर्ति गराउन थालिएको बताए ।
‘मिलनचोक सबस्टेसन नजिकै एउटा पोल गाड्न, तार तान्न र संरचना बनाउन बाँकी भएकाले अस्थायी रूपमा बेनीबाट ट्यापिङ गरेर रातोढुंगा सबस्टेसनमा लाइन जोडेर हाम्रो निगरानीमा परीक्षणका लागि विद्युत् आपूर्ति गरिएको छ,’ उनले भने, ‘अबको एक महिनाभित्र १५ दिनमा ठेकेदारले सबै संरचना बनाएर हस्तान्तरण गर्ने लिखित प्रतिबद्धता जनाएको छ।’
नेपाल विद्युत् प्राधिकरणमार्फत एटुजेड इन्जिनियरिङले सन् २०१६ मा रु. १६ करोडमा ठेक्का लिएको सबस्टेसन र प्रसारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । ठेकेदार कम्पनीका प्रतिनिधि पद्मसागर लुइँटेलले परीक्षण अवधिपछि प्राधिकरणलाई औपचारिक रूपमा सबस्टेशन हस्तान्तरण गरिने केन्द्रका प्रमुख गामीले बताए। सबस्टेशन सञ्चालनपछि म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मंगला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।