अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प परम्परागत अमेरिकी विदेश नीतिलाई उल्ट्याउन इच्छुक छन् भन्ने कुरामा अब कुनै शंका रहेन । पदभार ग्रहण गरेको दुई महिनाभन्दा कम समयमा ट्रम्पले युरोपसँग अमेरिकाको सम्बन्धलाई तोडेका छन् । नेटोप्रति वासिंटनको प्रतिबद्धतामाथि बारम्बार प्रश्न उठाएका छन् । रुसी आक्रामकताका लागि युक्रेनलाई दोष थोपारेका छन् र किभलाई सैन्य सहायता रोकेका छन् । त्यस्तै, उनले प्रमुख संयुक्त राष्ट्रसंघीय संस्थाहरूबाट अमेरिकालाई अलग गराएका छन् । विश्वव्यापी भन्सार युद्ध सुरु गरेका छन् । अमेरिकी सहायता र मानवीय सहायताको विश्वव्यापी वितरणमा अवरोध पुर्याएका छन् । त्यति मात्र होइन, ट्रम्पले क्यानडा, पानामा, ग्रिनल्यान्ड र गाजालाई नियन्त्रण लिने धम्की दिएर अमेरिकाले दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्थाको मुल सिद्धान्तलाई तोड्न सक्छ भन्ने संकेतसमेत दिएका छन् ।
विश्वको प्रमुख आर्थिक, सैन्य र प्राविधिक शक्तिको रूपमा संयुक्त राज्य अमेरिकासँग निश्चित रूपमा कमजोर शक्तिहरू वा उसको (अमेरिकी) सुरक्षा सुनिश्चितता र बजार पहुँचमा निर्भर अन्य प्रतिस्पर्धीको लागतमा आफ्नो हित पछ्याउने विकल्प छ । कमजोर शक्तिले एकातिर अमेरिकाको राष्ट्रिय सुरक्षा हितलाई राम्रोसँग सेवा गर्छ भने अर्कोतर्फ अन्य प्रमुख शक्तिसँगको आफ्नो सम्बन्धलाई पुनः विचारको निर्णय पनि गर्न सक्छ ।
तर, प्रश्न यो छ– कुन उद्देश्यका लागि ? यदि संयुक्त राज्य अमेरिकाले आफ्नो शक्तिका दुई परम्परागत स्रोतहरू (दोस्रो विश्वयुद्धपछि बनेको अन्तर्राष्ट्रिय प्रणालीको व्यवस्थापन र विश्वकै सबैभन्दा आर्थिक रूपमा उन्नत लोकतन्त्रहरूको अगुवा र संरक्षकको रूपमा आफ्नो भूमिका)बाट टाढा जान्छ भने यस्तो नीतिले ल्याउने घट्दो प्रभावका लागि कुन नयाँ शक्तिले क्षतिपूर्ति देला ? रणनीतिक रूपमा पछि हट्ने ह्वाइट हाउसको निर्णयले रुस र चीनजस्ता भूराजनीतिक प्रतिद्वन्द्वीका लागि विश्वव्यापी प्रभाव विस्तार गर्ने अवसर प्रदान गरेको छ ।
ट्रम्पका नीतिहरूको अनौठो प्रकृति भूराजनीतिक विश्लेषण र विश्व व्यवस्थामाथिको प्रतिस्पर्धाको लेन्सबाट बुझ्न नसकिने लाग्न सक्छ । यो किनभने परम्परागत भूराजनीति र अन्तर्राष्ट्रिय सम्बन्धको यथार्थवादी विद्यालय दुवैले अन्तर्राष्ट्रिय प्रणालीमा राज्य व्यवहारको एक महत्वपूर्ण आयामलाई बेवास्ता गर्छन्– त्यो हो शासन प्रतिस्पर्धा । यथार्थवाद मुख्यतया शक्ति सन्तुलन, क्षेत्रीय हित र सुरक्षा सरोकारमा केन्द्रित भए पनि यसले प्रायः शासनको वैचारिक प्रकृति (चाहे लोकतान्त्रिक होस् वा निरंकुश) ले तिनीहरूको रणनीतिक छनोट र अन्तर्क्रियालाई कसरी गहिरो रूपमा आकार दिन्छ भन्ने कुरालाई बेवास्ता गर्छ ।
योजनाबद्ध होस् वा अन्जानमै, ट्रम्पका अहिलेसम्मका नीतिले स्वदेश र विदेशमा लोकतान्त्रिक अभ्यासलाई नकारात्मक रूपमा प्रभावित पारेको देखिन्छ
ट्रम्पले अमेरिकी राजनीतिक प्रणालीका तत्वलाई निरंकुश बनाउँदै जाँदा, उनको विदेश नीतिले पनि बढ्दो रुपमा निरंकुश शासनलाई समर्थन गरेको देखिन्छ । योजनाबद्ध होस् वा अनजानमै, ट्रम्पका अहिलेसम्मका नीतिले प्रायः स्वदेश र विदेशमा लोकतान्त्रिक सीमाको प्रतिरोध गर्ने सेवामा छन्, जसले शक्तिशाली शासनका लागि लोकतान्त्रिक त्रुटिमाथि उनको स्वघोषित प्राथमिकतालाई प्रतिबिम्बित गर्छ ।
हामी अलग राज्यको तहमा हुने शासन प्रतिस्पर्धालाई सहजै बुझ्छौँ । निरंकुश शासनको अस्तित्वका लागि मुख्य बाधक लोकतन्त्रीकरण हो । निरंकुश शासक राजनीतिक स्वतन्त्रतालाई व्यवस्थित रूपमा प्रतिबन्धित गरेर, न्यायपालिकालाई अधीनमा राखेर, मिडिया स्वतन्त्रतालाई कटौती गरेर, नागरिक समाजमाथि प्रतिबन्ध लगाएर र लोकतान्त्रीकरणका लागि सामाजिक मागलाई दबाएर लोकतन्त्रको खिलाफ उत्रन्छन् । त्यसैगरी, लोकतान्त्रिक पतन मूलतः निरंकुशताको प्रक्रिया हो । संस्थागत नियन्त्रण र सन्तुलनको क्षय, न्यायपालिकामा राजनीतीकरण, मिडिया स्वतन्त्रताको पतन र विशेष स्वार्थद्वारा सार्वजनिक संस्था कब्जा गर्नु सबै चुनौती हुन् । लोकतन्त्र र निरंकुशताबिचको शासन प्रतिस्पर्धाको एक प्रमुख विशेषता यसको शून्य–योग प्रकृति हो, कुनै पनि लोकतान्त्रिक लाभ निरंकुश शासनको मूल्य चुकाएर आउँछ भने कुनै पनि निरंकुश शासन लोकतान्त्रिक मूल्य–मान्यता गुमाउँदा आउँछ ।
निरंकुश देशले उदार लोकतन्त्रलाई सधैँ आफ्नो अस्तित्वका लागि खतराको रूपमा हेर्ने गर्छ । सन् १९८९ को तियानमेन विरोध प्रदर्शन, सन् १९९० को दशकको रंगीन क्रान्ति र २०१० को दशकदेखि सुरु भएको अरब क्रान्तिमा पश्चिमा सरकारको हात नहुन सक्छ, तर जसै ती क्रान्ति सुरु भए, समग्र पश्चिमले तिनलाई समर्थन दियो ।
जब कुनै देश लोकतन्त्रमा रूपान्तरण हुन्छ, तब यसलाई लोकतान्त्रिक राज्यले लगभग यान्त्रिक रूपमा स्वीकार गर्छ । यो लोकतान्त्रिक शासन प्रणालीमा समानता भएका उच्च विशिष्ट मूल्यबाट उत्पन्न हुन्छ, जस्तै– आवधिक रूपमा निर्वाचित सरकार, कानुनी शासनको सम्मान, समाजको खुला चरित्र र एक–अर्कासँग युद्धमा नजाने तिनीहरूको प्रमाणित प्रवृत्ति राजनीतिक विज्ञानमा लोकतान्त्रिक शान्ति सिद्धान्त भनेर चिनिने घटनाक्रम हुन् । यो एकता प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय प्रणालीमा एक विशिष्ट फाइदा हो । र, निरंकुशतामा घरेलु राजनीतिक विरोधका लागि स्थायी आकर्षण हो ।
अर्कोतर्फ, निरंकुशताको चरित्र भने देशैपिच्छे विशिष्ट हुन्छ । त्यो प्रत्येक एक निश्चित शक्ति संरचनामा निर्मित हुन्छ, जुन ऐतिहासिक, जातीय, सामाजिक, वा धार्मिक कारकमा अत्यधिक निर्भर हुन्छ । साउदी अरब, भेनेजुएला र इरिट्रियाको शासनमा समानता छैन । चीनको राजनीतिक प्रणालीको ज्ञानले रुसी राज्यको कार्यप्रणालीमा लगभग कुनै अन्तर्दृष्टि प्रदान गर्दैन । लोकतन्त्रको तुलनामा निरंकुशतामा कम साझा विशेषता हुन्छन् । निरंकुश समाजको बन्द प्रकृतिको कारणले एक–अर्कासँग व्यवहार गर्दा म्ूल्य चुकाउनुपर्छ । र, ‘निरंकुश शान्ति सिद्धान्त’ अझै पत्ता नलागेको हुनाले अरूको मनसायलाई कहिल्यै पूर्ण रूपमा विश्वास गर्न सकिँदैन ।
शासन प्रतिस्पर्धाका कारण आफूहरूमाथि पर्न सक्ने क्षतिको प्रभावबाट बच्न अधिनायकवादी देशले आक्रामक प्रतिरोधात्मक उपायको विकास गरेका छन् । स्वदेशमा तिनीहरूले राजनीतिक असहमतिलाई राष्ट्रिय सुरक्षा खतराको रूपमा व्यवहार गर्छन् भने विदेशमा तिनीहरूले लोकतान्त्रिक शासनको खुलापनलाई भित्रैबाट कमजोर बनाउन षड्यन्त्र गर्छन् । त्यसका लागि उनीहरूले गलत सूचना अभियान सिर्जना गर्छन्, प्रभाव बढाउँछन्, सम्मानजनक अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्न प्रतिस्पर्धा गर्छन् र प्रायः विदेशमा आफ्ना आलोचकको मुख बन्द गर्न गैरकानुनी माध्यमहरूको सहारा लिन्छन् । अधिनायकवादीहरूले एक–अर्काबाट पनि सिक्छन् र प्रायः अन्तर्राष्ट्रिय मञ्चमा एक–अर्कालाई पारस्परिक रूपमा ढाल्छन् ।
कतिपय लोकतन्त्रले निरंकुशतालाई कमजोर पार्ने प्रयास गरेका छन्, यद्यपि त्यसमा सुरक्षा र आर्थिक विचार हाबी हुन्छन् । लोकतान्त्रिक देश शासन प्रतिस्पर्धाको तर्कभित्र काम गर्छन् भन्ने तथ्यको अर्थ यो होइन कि तिनीहरूको विदेश नीति निरंकुशताभन्दा बढी सिद्धान्तवादी छ वा लोकतान्त्रिक मान्यता अझ बढी सम्मानजनक छन् । वास्तवमा प्रतिस्पर्धाको दबाबले केही लोकतान्त्रिक देशलाई लोकतान्त्रिक मूल्यसँग तिनीहरूको पंक्तिबद्धतालाई ध्यान नदिई शक्तिलाई सुदृढ गर्ने नीति अपनाउन प्रेरित गर्न सक्छ ।
यद्यपि, लोकतन्त्र प्रवद्र्धन कार्यक्रम, मानव अधिकारको समर्थन, राजनीतिक रूपले प्रेरित प्रतिबन्ध, असन्तुष्टहरूको संरक्षण र स्वतन्त्र अन्तर्राष्ट्रिय मिडिया र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको रिपोर्टिङलाई पनि अधिनायकवादी शासकले खतराको रूपमा बुझ्छन्, जसको प्रतिरोध गर्नुपर्छ, नत्र तिनीहरूले शासनको वैधताको क्षयमा सहयोग पुर्याउँछन् । पश्चिमा लोकतन्त्र इजिप्ट, साउदी अरेबिया वा थाइल्यान्डको समर्थक हुन सक्छ । तर, यी प्रत्येक देशले लोकतान्त्रीकरणको पक्षमा आफ्नै घरेलु दबाबको सामना गर्छन् ।
– फरेन पोलिसीबाट