चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बिवाइडीले एउटा नयाँ चार्जिङ प्रणाली सुरु गरेको छ, जसले विद्युतीय कार चार्ज हुन पेट्रोल भर्न लागेजति नै छिटो हुने कम्पनीको दाबी छ । यो दाबीसँगै बिवाइडीको हङकङमा सूचीबद्ध सेयर मंगलबार ४.१ प्रतिशतले बढेर ४०८.८० हङकङ डलरको रेकर्ड उच्चतम बिन्दुमा पुगेको थियो । लगानीकर्ता नयाँ ब्याट्रीको विकासले कम्पनीले पहिलेदेखि बनाएको विद्युतीय क्षेत्रको प्रभुत्व थप बलियो बनाउने आशा व्यक्त गरेका छन् ।
बिवाइडीका संस्थापक वाङ चुआनफुले सोमबार कम्पनीको सेन्जेन मुख्यालयबाट प्रत्यक्ष प्रसारण गरिएको एक कार्यक्रममा यो नयाँ ब्याट्रीको खुलासा गरेका थिए । ‘हामी विद्युतीय सवारीसाधनको चार्जिङको समयलाई पेट्रोलबाट चल्ने सवारीसाधनको इन्धन भर्ने समयजत्तिकै छोटो बनाउने लक्ष्यमा काम गर्दै आएका छौँ,’ वाङले भने, ‘यही प्रयासका कारण यस क्षेत्रमा पहिलोपटक एक मेगावाटको चार्जिङ क्षमता हासिल गरिएको छ ।’
चुआनफुका अनुसार नयाँ आउने दुई बिवाइडी मोडलमा यस्तो ब्याट्री हुनेछ, जुन पाँच मिनेटको चार्जमा चार सय किमि गुड्नेछ । ‘हान एल’ र ‘ट्याङ एल एसयुभी’ नामक ती कारको मूल्य दुई लाख ७० हजार युआन (३७ हजार ३३० डलर)बाट सुरु हुनेछ ।
प्रतिस्पर्धी टेस्लाको सेयरमा ह्रास
बिवाइडी सन् २०२४ को विश्वको दोस्रो ठुलो विशुद्ध ब्याट्रीयुक्त विद्युतीय सवारीसाधन निर्माता बनेको थियो । यस समूहमा उसलाई टेस्लाले मात्र उछिनेको छ । तर, यस चिनियाँ कम्पनीले बेचेको पेट्रोल इन्जिन र ब्याट्रीयुक्त इन्जिन भएको ‘प्लग–इन हाइब्रिड’ कार जोड्ने हो भने टेल्साभन्दा अघि छ । सन् १९९५ देखि ब्याट्री बनाउँदै आएको बिवाइडीले सन् २००३ देखि कार बनाउन सुरु गरेको थियो ।
हजार किलोवाट वा १ मेगावाट (मेगावाट) को चार्जको गति टेस्लाको सुपरचार्जरभन्दा दोब्बर छिटो हुनेछ, जसले ५०० किलोवाटसम्म चार्ज क्षमता देखाउँछ । छिटो चार्ज गर्ने प्रविधिको विकासले विद्युतीय वाहनको स्वीकारोक्ति बढाउने विश्वास गरिन्छ । बिवाइडीको सफलताको यस समाचार पहिलेदेखि संघर्ष गरिरहेको टेस्लाका लागि निराशाको रूपमा हेरिएको छ । युरोपका उग्र–दक्षिणपन्थी राजनीतिज्ञको समर्थन र ट्रम्प प्रशासनसँगको सहकार्यले टेस्लाको बिक्रीमा असर गरिरहेको छ ।
टेस्लाले भने अहिले आफैँले तोकेको बिक्रीको लक्ष्य भेट्न सकिरहेको छैन । त्यसबाहेक यसका लगानीकर्ताबाट स्वचालित सवारीसाधन उत्पादनका लागि बढ्दो रूपमा दबाब सामना गरिरहेको छ । मस्कको पटक–पटकको वाचाका बाबजुद लगभग एक दशकदेखि टेस्लाको स्वचालित कार बजारमा आउन सकेको छैन । त्यसबाहेक विश्वभरका बजारमा उसले बिवाइडी र अन्य चिनियाँ कम्पनीका सस्तो इभी मोडेलसँग कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ ।
बिवाइडीको नयाँ ब्याट्री प्रणालीको घोषणापछि टेस्लाको सेयर मूल्य मंगलबार ५.५ प्रतिशतले घटेको थियो । त्यसको अघिल्लो दिन सोमबार पनि ४.८ प्रतिशतले ह्रास देखिएको थियो । सन् २०२५ को पहिलो दुई महिनामै कम्पनीको सेयर मूल्यांकन ४४ प्रतिशतले घटिसकेको छ । ट्रम्पसँग मस्कको निकटताबाट टेस्लाको प्रतिष्ठामै धक्का पुग्ने कुराले यसमा लगानीकर्ता चिन्तित देखिन थालेका छन् ।
उता नयाँ ब्याट्री प्रणालीकै घोषणाको सेरोफेरोमा बिवाइडीले चिनभर आफ्नै कम्पनीको चार हजार द्रुत चार्जिङ स्टेसनको सञ्जाल निर्माण गर्ने घोषणा ग¥यो । कम्पनीले यो लक्ष्य हासिल गर्न लाग्ने लगानी तथा समयसीमा भने तोकेको छैन । चीनमा बिवाइडी कार चलाउनेहरूले धेरै हदसम्म अन्य सवारीसाधनका चार्जिङ सुविधा वा तेस्रो–पक्ष अपरेटरद्वारा सञ्चालित सार्वजनिक चार्जिङमा भर पर्दै आएका छन् ।