च्यासल युथ क्लबले तीन वर्षपछि सुरु सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सानदार प्रदर्शन गर्दै शीर्ष डिभिजन लिगमा उक्लने योजना बनाएको छ । ०७८ मा कमजोर प्रदर्शन गर्दै च्यासल ‘ए’ डिभिजन लिगमा रेलिगेमनमा परेको थियो । त्यसयता पहिलोपटक ‘बी’ डिभिजन लिग हुँदै छ । दोस्रो डिभिजनमा झरेको पहिलोपटक नै पुनः शीर्ष डिभिजनमा उक्लने गरी च्यासल प्रतियोगितामा होमिएको छ । व्यवस्थापनसमेत पहिलो अवसरलाई चुकाउन चाहँदैन । त्यसैले खेलाडी अनुबन्धमा पनि ठुलै खर्च गरेको छ ।
नेपालको उमेर समूहबाट खेलिसकेका स्टार खेलाडीलाई लिगका लागि अनुबन्ध गरेको छ । क्लबका अध्यक्ष रमेश व्यञ्जनकार यसैपटक शीर्ष डिभिजनमा उक्लने योजना बनाएको सुनाउँछन् । ‘हाम्रो योजना शीर्ष डिभिजन लिग खेल्ने हो । लिग लामो समय रोकिँदा समस्या थियो । जसोतसो लिग भयो । हामीले शीर्ष डिभिजनमा उक्लने गरी तयारी गरेका छौँ ।’
क्लबले योजनाअनुसार चर्चित र युवा खेलाडी टिममा समावेश गरेको छ । नेपालको युवा टिमबाट खेलेका खेलाडीलाई प्राथमिकतामा राखेको छ । यसअघि नेपाल सुपर लिग (एनएसएल)मा उत्कृष्ट प्रदर्शन गरेका आश्विन घोरासैनी, कुशल देउवा, सीमान्त थापासँगै अनिल बोम्जन लामा, दीपक थापामगर, लछ्छु थापा, नीरज कार्की र यू–१८ ललित स्मृतिमा नेपाल पुलिस क्लबलाई लिग च्याम्पियन बनाएका सुवास बमजस्ता खेलाडी समावेश छन् । सुवास भने नेपाली राष्ट्रिय टिममा स्थान बनाएसँगै सिंगापुर र मलेसिया भ्रमणमा निस्केका छन् । गोलकिपरमा अनुभवी रोशन नेपाल छन् । राष्ट्रिय टिमको क्याम्पमा बोलाएपछि सुवासले पहिलो खेलमा वीरगन्ज युनाइटेडविरुद्ध गोलरहित बराबरी खेल्दा टिममा जोडिन पाएनन् । दोस्रो खेलमा टोली प्लानिङ ब्वाइजसँग ४–० ले पराजित भयो ।
‘बी’ डिभिजन लिगमा अनुबन्ध भएसँगै युवा खेलाडीले चर्चित फ्रेन्चाइज एनएसएल गुमाउने पक्का भएको छ । खेलाडीलाई पनि एनएसएलभन्दा लिग नै प्रभावकारी हुने विश्वास छ । ‘लक्ष्य नै च्याम्पियन हुने भएपछि त्यहीअनुसार युवा खेलाडी अनुबन्ध गरेका हौँ । उनीहरूबाट धेरै आशा गरेका छौँ,’ अध्यक्ष व्यञ्जनकारले भने । टोलीका मुख्य प्रशिक्षक दीपेश योञ्जनले उपाधि जिताउन तयार रहेको बताए । ‘हामीसँग क्षमतावान् युवा खेलाडी छन् । सहभागी १४ टिमलाई नै चुनौती र दबाब छ । तर, हामी उपाधि जित्न खेल्छौँ,’ प्रशिक्षक योञ्जन भन्छन्, ‘राम्रो प्रदर्शन गर्न तयार छौँ र ‘ए’ डिभिजनको दबदबा फिर्ता गराउँछौँ ।’
७५ लाख खर्च हुने अनुमान
क्लबले शीर्ष डिभिजन लिगमा उक्लन सोहीअनुसार लगानी पनि गरेको छ । सोहीअनुसार युवा खेलाडीलाई अनुबन्ध गरेको छ । क्लबले चार लिगमा ७० लाखसम्म खर्च हुने अनुमान गरेको छ । ‘खेलाडी, टिम स्टाफ, व्यवस्थापनका लागि ७० देखि ७५ लाखसम्म खर्च हुने अनुमान गरेका छौँ । यति खर्चले नै टोलीलाई शीर्ष डिभिजनमा उक्लाउने योजना छ ।’
दोस्रोपटक ‘बी’ डिभिजन लिग खेल्दै
ललितपुर जिल्लामै डिभिजन लिग खेल्ने क्लब आधा दर्जनभन्दा बढी छन् । त्यसमध्ये एक हो च्यासल युथ क्लब । यो क्लब ०३४ मा स्थापना हो । यसले ०६४ बाट मात्रै डिभिजन फुटबलमा स्थान बनायो । त्यसको दुई वर्षपछि नै ‘बी’ डिभिजन लिगमा बढुवा भएको हो । त्यसपछि क्लबले लगानी पनि बढायो । पाटनकै क्लब हुँदा थ्री स्टार क्लबका केही पदाधिकारी च्यासलमा जोडिए । ०७७ असोजमा सम्पन्न लिगमा टोली पहिलोपटक सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा भयो । तर, टोलीले शीर्ष डिभिजनमा प्रतिस्पर्धा गर्न तामझामसहित इटालीमा खेलिरहेका विकास मेराग्लिया अनुबन्ध गर्यो । राष्ट्रिय टिमका कप्तान विराज महर्जनसँगै कमल श्रेष्ठ, सन्तोष साहुखल, युवा गोलकिपर अर्पण कार्की, आशिष राई, अभिषेक लिम्बूजस्ता खेलाडी अनुबन्ध गरेको हो । तर, १४ टिम सहभागी लिगमा टोलीले कमजोर प्रदर्शन गर्दै रेलिगेसनमा पर्यो ।