खेलकुदमन्त्री चौधरीलाई कांग्रेस कार्यालयमै कार्यकर्ताको कालोझन्डा

शुक्रबार, ७ चैत, २०८१
डिजिटल संस्करण

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कालोझन्डा देखाइएको छ । बिहीबार कांग्रेस खेलकुद विभागको कार्यक्रममा सहभागी हुन पार्टी कार्यालय सानेपा पुगेका चौधरीलाई कांग्रेसनिकट विद्यार्थीले नै कालोझन्डा देखाएका हुन् । पार्टी कार्यालय सानेपा प्रवेश गर्ने क्रममा नेपाल विद्यार्थी संघ (नेविसंघ)का एक समूहले विरोध गर्दै राजीनामासमेत मागेको लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष देवेन्द्र शेरचनले जानकारी दिए । ‘आफ्नै पार्टीको मन्त्रीलाई यस किसिमको विरोध नगरौँ भनेको हो । तर, असन्तुष्ट रहेका साथीहरूलाई रोक्न सकेनौँ । यद्यपि, उनीहरूको माग जायज देखिन्छ ।’

आफ्नै पार्टीको मन्त्री भए पनि मन्त्री चौधरीको व्यक्तिगत स्वार्थका कारण खेलकुदका महत्वपूर्ण पद गुमाउनुपरेको आरोप लाग्दै आएको छ । पार्टीको भ्रातृ संगठनलाई बेवास्ता गरेको आरोप पनि छ । पछिल्लोपटक राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्ष तथा बोर्ड सदस्यमा पार्टीको संस्थागत निर्णयविपरीत काम गरेको आरोप चौधरीमाथि छ । उनले आफ्नै स्कुलकी प्रिन्सिपल रञ्जना प्रधानलाई कार्यकारी पदमा ल्याएको भन्दै पार्टीभित्रै विरोध हुँदै आएको थियो । मन्त्री चौधरीले व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर नेपाल ओलम्पिक कमिटी विवाद सुल्झाउनुको साटो थप बल्झाउने काम गरेको पनि आरोप पार्टीभित्रै छ । 

त्यस्तै, उनकै स्वार्थका कारण गत मंसिरमै हुनुपर्ने दसौँ राष्ट्रिय खेलकुदको मिति लगातार दोस्रोपटक सरेको आरोप पनि पार्टीका तल्लो तहका नेताले लगाउँदै आएका छन् । कालोझन्डा देखाएपछि पनि मन्त्री चौधरी भने कार्यक्रममा पुगेका थिए । कार्यक्रमको उद्घाटन पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका थिए । 

दसौँ राष्ट्रिय खेलकुद लगातार सरेपछि असन्तुष्टि
कर्णाली प्रदेशमा दसौँ राष्ट्रिय खेलकुद गत मंसिरमै सम्पन्न हुनुपर्ने थियो । तर, मन्त्रीले सदस्यसचिव टंकलाल घिसिङसँगको असमझदारीबिच प्रतियोगिता फागुनमा सारे । त्यो मितिमा समेत प्रतियोगिता हुन सकेन । यसपछि मन्त्रीले पुनः प्रतियोगिताको मिति सारेर जेठमा पुर्याएका छन् । यही मितिमा समेत प्रतियोगिता हुन नसक्ने खेलकुद वृत्तमा चर्चा छ । सोही असन्तुष्टि पार्टी कार्यालयमा पनि देखिएको हो । ‘जेठमा प्रतियोगिता हुन अहिलेसम्म जिल्ला र प्रदेशको छनोट भएको छैन । त्यहाँमाथि त्यो समय सुर्खेत र नेपालगन्जमा निकै गर्मी हुन्छ । कसरी प्रतियोगिता हुन्छ ?’ शेरचनले प्रश्न गरे । 

एनओसी विवाद सुल्झाउनुको सट्टा बल्झाउने काम
मन्त्री चौधरीले व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर नेपाल ओलम्पिक कमिटी (एनओसी)को विवाद सुल्झाउनुको साटो थप बल्झाउने काम गरेको पनि आरोप पार्टीभित्रै छ । पछिल्लो समय एनओसी र राखेप तथा मन्त्रालयको विवाद उत्कर्षमा छ । एनओसी र सरकारी पक्षबिच एकले अर्कालाई अटेरी गर्ने र आ–आफ्नो शक्ति देखाउने होडबाजी नै चलेको छ । यही विवादका कारण खेलाडी र संघ मर्कामा परेका छन् । यसमा पनि अधिकांश पदाधिकारीले मन्त्रीकै आलोचना गरेका छन् । एनओसीमा पनि अधिकांश पदाधिकारी कांग्रेसनिकटकै छन् ।

जीवनराम श्रेष्ठ तेस्रो कार्यकाल निर्विरोध निर्वाचित हुँदा बहुमत कांग्रेस सदस्यले श्रेष्ठलाई साथ दिएका थिए । यता, मन्त्रीले ओलम्पिक कमिटीकै स्पोर्टस् फर अल कमिसन्स समितिकी सदस्य रञ्जना प्रधानलाई राखेपको सदस्यसहित कार्यकारी पदमा नियुक्त गरेका थिए । उनी मन्त्री चौधरीले सञ्चालन गरेको नाइटिंगेल स्कुलकी प्रिन्सिपलसमेत हुन् । 

असन्तुष्ट पक्षले विरोध जनाएको हो
 देवेन्द्र शेरचन, अध्यक्ष, लोकतान्त्रिक खेलकुद संघ

मन्त्रीसँग असन्तुष्ट पक्षले विरोध जनाएको हो । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता दोस्रोपटक सरेको छ । अब, गराउँदा जेठको चर्काे गर्मीमा सजायजस्तो भन्ने दुःखेसो छ । पदाधिकारी नियुक्ति गर्दा आफ्नो मान्छे र खेलले नचिनेको मान्छे राख्यो भन्ने अर्काे आरोप छ । एकल निर्णय गरेर खेलकुद विभागलाई वास्ता गरेनन् भन्ने छ । मैले आफ्नै मन्त्रीलाई यस किसिमको विरोध नगरौँ भन्दा पनि साथीहरू जाइलागे । 

सुझावित समाचार