संघीय संसददेखि मधेश प्रदेश सभामा उठ्यो दलितको घर भत्काउनेमाथि कारबाहीको माग

शुक्रबार, ७ चैत, २०८१
डिजिटल संस्करण

संघीय संसद्को प्रतिनिधिसभा र मधेश प्रदेश सभाका सांसदहरूले सिराहामा महायज्ञ लगाउन दलितको घर भत्काउने घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् । प्रतिनिधिसभाको आकस्मिक र शून्य समयमा बोल्दै सांसदले दलित समुदायमाथि विभेद गर्नेलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । कांग्रेस सहमहामन्त्री जीवन परियारले औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका अध्यक्ष दिलीप यादवसहितका व्यक्तिले डोम समुदायका व्यक्तिलाई उठीवास गर्ने काम गरेको र कारबाही हुनुपर्ने बताए ।  

एमाले सांसद सम्झना थपलियाले सिराहा घटनामा संसदीय छानबिन समिति गठनको माग गरिन् । माओवादी सांसद रणेन्द्र बरालीले दलित समुदायमाथि ज्यादती बढ्दै जाँदा सरकार के हेरिरहेको छ भनेर प्रश्न गरे । रास्वपाका मनीष झाले पनि सिराहामा लज्जित घटना भएको भन्दै जातीय विभेद गर्नेलाई कठघरामा ल्याउन माग गरे ।  स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दलितमाथि शृंखलाबद्ध रूपमा अत्याचार भइरहेको भन्दै दोषीलाई कारबाही गर्न माग गरे । 

त्यस्तै,  मधेश प्रदेश सभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै माओवादी सांसद माला कर्णले महायज्ञको नाममा दलित समुदायलाई उठीवास गर्ने गाउँपालिका अध्यक्षसहित बाबालाई कडा कारबाही गर्न माग गरिन् । कानुनी रूपमा नेपालमा छुवाछुत समाप्त भएको दशकौँ भइसक्दा पनि व्यवहारमा अहिले पनि छुवाछुत, तल्लो र उपल्लो जात कायम रहेको उनले बताइन् ।

जसपा नेपालकी सांसद ललिता दासले गाउँपालिकाका जनप्रतिनिधिले डोम समुदायलाई अछुत भन्दै उठीवास गराउनु मानवताविरोधी काम रहेको बताइन् । यज्ञको नाममा कसैलाई उठीवास नै लगाउने मानसिक रोगीलाई कडा कारबाही गरिएन भने यस्ता मानसिक रोगी बढ्दै जाने उनले बताइन् । कांग्रेस सांसद नीलमकुमारी रजकले घटनाको भत्र्सना गर्दै दोषीलाई कारबाहीको माग गरिन् ।

सुझावित समाचार