नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकारलाई कुनै कर्मचारीसँग ‘टसल’ गर्न आवश्यक नरहेको बताएका छन्।
बिहीबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई कानुनबमोजिम काम गर्ने वातावरण बनिरहेको बताए। उनले भने, ‘अहिलेको सरकारले कोही कर्मचारीसँग अनावश्यक रूपमा टसल गर्नुपर्ने, कसैलाई देवत्वकरण र कसैलाई दानवीकरण गर्नपर्ने कुनै जरुरी छैन।’
ऊर्जा मन्त्रालयको कार्यशैलीमा केही कमजोरी हुन सक्ने भए पनि कर्मचारीले आफैँ राजनीतिक नेतृत्वसरह भाषण र स्टन्ट गर्न आवश्यक नरहेको उनको भनाइ थियो।
‘राज्यको नियमबमोजिम, निर्देशनबमोजिम काम गर्नुपर्ने निकायले काम गर्ने कुरालाई बढ्दा प्राथमिकता दिनुपर्छ। आफैँले राजनीतिक नेतृत्वसरह भाषण गर्दै हिँड्ने, स्टन्ट गर्ने, पपुलिजमका लागि प्रयत्न गर्नेचाहिँ शोभनीय भएन भन्ने चर्चाहरू बाहिर आएका छन्,’ बर्तौलाले भने।
एकले अर्कालाई निषेध गरेर नभई मन्त्रालय र प्राधिकरणले समन्वय गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।