नेकपा (एमाले)का सांसद ठाकुर गैरेले लोडसेडिङका विषयमा ऊर्जामन्त्री र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकका फरक भनाइले अन्याेल सिर्जना गरेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गैरेले भने, ‘हिजो दुईवटा समाचार सम्प्रेषित भए। एकातिर, मन्त्रीज्यू भन्नुहुन्छ लोडसेडिङ हुन्छ। लोडसेडिङ सुरु भयो। अर्कोतिर कार्यकारी प्रमुख भन्नुहुन्छ लोडसेडिङ छैन, हुँदैन, ढुक्क हुनुस्।’
एउटै सरकारका दुई अधिकारीको अभिव्यक्तिले समग्र देशलाई नै अन्याेलतिर लगेको भन्दै उनले भने, ‘यस्तो गलत सूचना अथवा फरक–फरक सूचना सम्प्रेषित गर्ने कुरा बन्द होस्।’
ऊर्जामन्त्री दीपक खड्काले नेपालमा लोडसेडिङ अन्त्य हुनुको जस भारतलाई दिनुपर्छ भनेको विषयमा सांसद गैरेले नेपालको बिजुली भारतले र भारतको बिजुली नेपालले किन्नु व्यापारको विषय मात्रै रहेको उल्लेख गरे।