रामेछापमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिन अंग्रेजी परीक्षामा नियमिततर्फ नाैजना र ग्रेडवृद्धितर्फ २३ जना गरी ३२ परीक्षार्थी अनुपस्थित भएका शिक्षा विकास तथा समन्वय इकाइ रामेछापले जनाएको छ।
रामेछापका आठ स्थानीय तहमा यस वर्षको एसइई परीक्षाका लागि १९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। ती परीक्षा केन्द्रहरूमा दुई हजार ४१४ जना नियमित र २९० जना ग्रेड वृद्धिका लागि परीक्षामा सहभागी हुनुपर्नेमा ३२ जना अनुपस्थित रहेका शिक्षा विकास तथा समन्वय इकाइ रामेछापका इकाइ प्रमुख नेत्रप्रसाद गजुरेलले जानकारी दिए।
गजुरेलका अनुसार नियमिततर्फ डहु मावि डहु केन्द्रमा एकजना, त्रिपुरेश्वर मावि दुरागाउँ परीक्षा केन्द्रमा एकजना, हिमगंगा बहुमुखी क्याम्पस साँघुटार परीक्षा केन्द्रमा तीनजना परीक्षार्थी अनुपस्थित भएका छन्। त्यस्तै, कण्ठेश्वर मावि टोकरपुर परीक्षा केन्द्रमा एकजना, प्रयागेश्वर मावि पकरबास परीक्षा केन्द्रमा एकजना, तामाकोशी जनजागृति मावि खिम्ती परीक्षा केन्द्रमा एकजना र सिद्धेश्वर बहुमुखी क्याम्पस बाम्ती परीक्षा केन्द्रमा एकजना विद्यार्थी अनुपस्थित भएका हुन्।
ग्रेड वृद्धितर्फ डहु मावि डहु परीक्षा केन्द्रमा तीनजना, मन्थली माविको (ग) परीक्षा केन्द्रमा दुईजना, नागकन्या मावि गडवारी परीक्षा केन्द्र मन्थलीमा एकजना, कालिका मावि लखनपुर परीक्षा केन्द्रमा दुईजना, कण्ठेश्वर मावि टोकरपुरमा आठजना परीक्षार्थी परीक्षामा सहभागी भएनन्।
त्यसैगरी, प्रयागेश्वर मावि पकरबास परीक्षा केन्द्रमा दुईजना, त्रिपुरेश्वर मावि दुरागाउँ परीक्षा केन्द्रमा दुईजना, झट्टेश्वर मावि धोबी परीक्षा केन्द्रमा एकजना, हिमगंगा बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा दुईजना विद्यार्थी अनुपस्थित भएका छन्। पहिलो दिनको परीक्षा रामेछापमा शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको सो कार्यालयले जनाएको छ।