२२ लाख मूल्यबराबरको ७४० वटा भेप बरामद

बिहिबार, ६ चैत, २०८१
डिजिटल संस्करण

इलाका प्रहरी कार्यालय बाह्रबिसेले चीनको सीमावर्ती क्षेत्र लिपिङबाट काठमाडौं जाँदै गरेको कन्टेनर भ्यानबाट विद्युतीय सिगरेट (भेप) बरामद गरेको छ ।
नियमित चेकजाँचको क्रममा प्रहरीले बाह्रबिसेको खुर्सानीबारीबाट भेप बरामद गरेको हो ।  ५५ वटा ठुलो डब्बामा रहेको ५५० र ३८ साना डब्बामा रहेको १९० वटा गरी ७४० वटा भेप बरामद गरिएको इलाका प्रहरी कार्यालय  बाह्रबिसेका प्रमुख प्रहरी निरीक्षक सुमेश पाण्डेले जानकारी दिए।

‘बरामद भेपको हालको बजार मूल्य २२ लाख २० हजार हुन आउँछ,’ उनले भने । बुधबार राति नौ बजेर १० मिनेट जाँदा बाह्रबिसे नगरपालिका– ३ खुर्सानिबारीमा नियमित चेकजाँचको  क्रममा भेप बरामद भएको उनले बताए। चेकपोस्टको ड्युटीमा खटिएका  प्रहरी सहायक निरीक्षक बनारसी साहको टिमले कन्टेनर  चेकजाँच गर्ने क्रममा तातोपानी भन्सारबाट भाटभटेनी सुपरमार्केटका लागि सामान बोकेर काठमाडाैंतर्फ जाँदै गरेको ना.६ ख ५४९६ नम्बरको कन्टेनर  भ्यानलाई शंका लागेर चेकजाँच गर्दा  भेप फेला परेको थियो ।

भन्सार छली गरी ल्याएको विद्युतीय सिगरेट  नियन्त्रणमा लिएपछि आवश्यक प्रक्रिया पुर्याएर  आजै राजस्व कार्यालय हरिहरभवन काठमाडौंलाई जिम्मा लगाउने तयारी भएको पाण्डेले बताए ।  चालक भोटेकोशी गाउँपालिका– २  बस्ने वर्ष ३४ का प्रवीण खत्रीसहित कन्टेनर  नियन्त्रण लिइएको छ । तातोपानी नाका भएर अवैध रूपमा भेप लाने गरेको प्रहरीलाई पहिलेदेखि नै सुराक थियो । तर, भेप फेला परेको यो पहिलो घटना हो । 

See More On

सुझावित समाचार