धवलागिरि बहुमुखी क्याम्पसकाे स्ववियु अध्यक्षमा शेख निर्वाचित

बुधबार, ५ चैत, २०८१
डिजिटल संस्करण

धवलागिरि बहुमुखी क्याम्पस बागलुङको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को अध्यक्षमा आस्मिन शेख निर्वाचित भएकी छिन् । शेखले नेपाल विद्यार्थी संघका उम्मेदवार सृष्टि आचार्यलाई ६२ मतान्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएकी हुन् ।

अखिल संयुक्त प्यानलबाट निर्वाचित शेखले ५५२ मत ल्याएकी छिन् भने आचार्यले ४९१ मत ल्याएकी छिन् । अध्यक्षका लागि स्वतन्त्र समूहबाट उम्मेदवारी दिएका दीपक सुवेदीले सात मत प्राप्त गरे । साबिकको धवलागिरि क्षेत्रकै एक मात्रै आंज्ञिक क्याम्पसमा विगत २० वर्षदेखि नेपाल विद्यार्थी संघले नेतृत्व समाल्दै आएकोमा यस वर्ष भने अनेरास्ववियुकी शेख विजयी भइन् ।

क्याम्पसले इतिहासमा पहिलोपटक महिला नेतृत्व पाएको छ।  निर्वाचनमा नेपाल विद्यार्थी संघ एकल प्यानल बनाएर चुनावी मैदानमा थियो भने अन्य वामपन्थी विद्यार्थी संगठन र राप्रपासमर्थक विद्यार्थी संगठन एकै ठाउँमा भएर संयुक्त प्यानल बनाएका थिए । मंगलबार भएको निर्वाचनमा अध्यक्ष र एक सदस्यबाहेक सचिव, कोषाध्यक्षसहित अन्य सदस्य नेविसंघले नै जितेको छ । 

सचिवमा नेविसंघका सचिन हरिजन निर्वाचित भए । हरिजनले ५३४ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी अखिलका रुद्रबहादुर पुनले ५०९ मत प्राप्त गरे । यसैगरी, कोषाध्यक्षमा विशाल थापा निर्वाचित भए । थापाले ६५४ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी अखिलका रेखा शर्माले ३८४ मत ल्याइन् ।

 यसैगरी, सदस्यहरुमा नेविसंघका प्रशान्त सुवेदी, दीपसागर सुवेदी, सुदीप घर्तीमगर, सृष्टि घर्ती, सुवासबाबु घर्ती, समेन्त शर्मा र शुभम राजभण्डारी निर्वाचित भएका छन् भने अखिलबाट विकल्प घर्तीमगर निर्वाचित भए । अखिल संयुक्तबाट अध्यक्ष शेख र सदस्यमा धर्तीमगर मात्र निर्वाचित भएका हुन् । 

सुझावित समाचार