साढे १८ हजार कैदीबन्दी बिरामी रहेको विषयमा सांसदले गराए सरकारको ध्यानाकर्षण

आइतबार, २ चैत, २०८१
डिजिटल संस्करण
साढे १८ हजार कैदीबन्दी बिरामी रहेको विषयमा सांसदले गराए सरकारको ध्यानाकर्षण

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले साढे १८ हजार कैदीबन्दी बिरामी भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

देशभरका कारागारमा रहेकामध्ये ६३ प्रतिशतभन्दा धेरै कैदीबन्दी बिरामी भएको समाचार आइतबार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ। आइतबार प्रतिनिधिसभा बैठकको शून्य समय सोही विषय उठाउँदै सांसद पौडेलले विभिन्न कारणले जेल गएको भए पनि राज्यले आफ्ना नागरिकको सुरक्षा र व्यवस्थित गर्ने जिम्मेवारी लिनुपर्ने बताए। 

‘२९ हजार पाँच सय कैदीबन्दीमध्ये १८ हजार पाँच सय बिरामी भएको सूचना सार्वजनिक भएको छ। के भएको हो, किन यस्तो भएको हो ? सम्मानित सदनमा सम्बन्धित निकायले प्रस्ट पार्नको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु,’ उनले भने।

सांसद पौडेलले पूर्वविशिष्ट पदाधिकारीहरूलाई आजीवन सेवासुविधा दिने प्रस्तावको समेत विरोध गरे। उनले भने, ‘पूर्वविशिष्ट पदाधिकारीलाई सेवासुविधा दिने कुरा यस्तो वेलामा सार्वजनिक भएको छ कि ग्रे लिस्टमा देश परेको छ, ट्रान्सपरेन्सी  इन्टरनेसनलले भ्रष्टाचार हुने देशको सूचीमा सूचीकृत गरेको छ।’

सुझावित समाचार