कैलालीको धनगढीमा ग्यास सिलिन्डर विस्फोट हुँदा तीनजना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका– ६, मटियारीका मीना खड्काको घरमा ग्यास विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
ग्यास विस्फोट हुँदा ३६ वर्षीया मीना खड्का, उनकी छोरी २० वर्षीया चन्द्रा र ग्यास व्यवसायी स्थानीय ४० वर्षीय गोविन्द जोशी घाइते भएका हुन् । घाइते तीनैजनाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले बताए ।
बोहराका अनुसार मीना र गोविन्दको अवस्था मध्यम र चन्द्राको सामान्य छ । ग्यास सिलिन्डर भान्सामा जोड्ने क्रममा एक्कासि विस्फोट भएको प्रहरीले जनाएको छ । मिनाले सिलिन्डर खरिद गरेर व्यापारी जोशीलाई जडानका लागि बोलाएकी थिइन् ।