चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । मेचीनगरस्थित काँकडभिट्टा खेल मैदानमा शनिबार सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजले आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले हराउँदै उपाधि हात पारेको हो । चर्च ब्वाइज पहिलोपटकको प्रयासमै विजेता बनेको हो ।
यस सिजन मोफसलमा चर्च ब्वाइज निकै छाएको छ । मोफसलमा आयोजित गोल्डकप मध्ये नौमध्ये आठवटा फाइनलमा चर्च ब्वाइजले स्थान बनाएको थियो । यसक्रममा चर्च ब्वाइजले झापा, बागमती तथा फाल्गुनन्द गोल्डकप हात पारेको थियो । चौथो उपाधिका रूपमा चर्च ब्वाइजले मेचीनगर जितेको हो । झापामै तीन दिनअघि विराट गोल्डकपको फाइनलमा चर्च ब्वाइज थ्री स्टारसँग १–० ले पराजित भएको थियो । चर्च ब्वाइजले तीन दिनपछि झापामै उपाधि जितेर घर फर्किएको छ ।
मेचीनगर गोल्डकपसँगै चर्च ब्वाइजले १० लाख र उपविजेता काँकडभिट्टाले पाँच लाख प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी आयोजक काँकडभिट्टाका कप्तान खामिर गिल्सान राई घोषित भएका छन् । घरेलु मैदानमा पहिलोपटकको फाइनलमै च्याम्पियन बन्ने सपना आयोजक काँकडभिट्टा अधुरो भएको छ । च्याम्पियन भएसँगै चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठ खुसी देखिए । ‘सिजनको अन्तिम मोफसलको सुखद अन्त्य भयो । योजनाअनुसार उपाधि जित्न सफल भयौँ । सेमिफाइनल र फाइनल नै निकै रोमाञ्चक भयो,’ श्रेष्ठले भने ।
काँकडभिट्टाका प्रशिक्षक मुन्ना सुब्बाले रणनीतिअनुसार खेल्न नसकेको प्रतिक्रिया दिएका छन् । ‘हामीले योजनाअनुसार खेल्नै सकेनौँ । फाइनल थर्डमा चुक्यौँ,’ उनले भने, ‘मिडफिल्डरमा पनि राम्रो भएन । घरेलु समर्थकलाई घरमै उपाधि जिताउन सकेनौँ । यसपटक तेस्रो मोफसल प्रतियोगितामा खेलेको टोली पहिलोपटक फाइनलमा स्थान बनाएको थियो ।
समीरको निर्णायक गोल
चर्च ब्वाइजलाई च्याम्पियन बनाउन प्लेयर अफ दी म्याच स्ट्राइकर समीर तामाङले गोल गरे । उनले खेलको ११औँ मिनेटमा निर्णायक गोल गरेका थिए । आयोजकका हेमन्त लिम्बूले गरेको गल्तीको फाइदामा उनले सहजै डिबक्सबाट टोलीलाई १–० को अग्रता दिलाए । खेलमा थप गोल हुन नसक्दा उनकै गोल निर्णायक बन्यो । हालै सिंगापुर र मलेसिया खेल्न राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा स्थान बनाए पनि समीर अन्तिममा बाहिरिएका हुन् । त्यसपछि उनी मेचीनगर गोल्डकपको सेमिफाइनल र फाइनल खेल्न चर्च ब्वाइजसँग आबद्ध भए । प्रतियोगिताको पहिलो खेलमा चर्च ब्वाइजले नेपाल सुपर लिग (एनएसएल) टोली झापा एफसीलाई सडनडेथमा हराएको थियो । त्यस्तै, चर्च ब्वाइजले सेमिफाइनलमा शीर्ष डिभिजन प्रतिद्वन्द्वी मच्छिन्द्र फुटबल क्लबविरुद्ध ४–३ को पुनरागमन जित निकालेको हो । काँकडभिट्टाले पहिलो खेलमा भारतीय टोली जर्जियन एफसीलाई ४–२ ले पराजित गरेको थियो । आयोजक टोलीले सेमिफाइनलमा धरान एफसीलाई सडन डेथमा हरायो ।
खामिर सर्वोकृष्ट खेलाडी
आयोजक काँकडभिट्टाका कप्तान खामिर गिल्सान राई प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी भएका छन् । उनले ५१ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताको उच्च गोलकर्तामा मच्छिन्द्रका युसुफ मलिक र चर्च ब्वाइजकै अवयोमी फकुन्ले छन् । दुवैले समान तीन गोल गरेका थिए ।
उनीहरूले जनही २५ हजार रुपैयाँ पाएका छन् । उत्कृष्ट रक्षक आयोजकका दिवस उराव, उत्कृष्ट गोलरक्षकमा चर्च ब्वाइजका टिकेन्द्र थापा र उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजकै सुमन श्रेष्ठ घोषित भएका छन् । तिनैले समान २१ हजार पाएका छन् । उदीयमान खेलाडी आयोजकका पर्शु राई घोषित हुँदै १५ हजार प्राप्त गरे । २४ फागुनबाट सुरु भएको गोल्डकपमा आठ टोली सहभागी थिए । विजेतालाई कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्की र प्रतियोगिताको संयोजक श्रीप्रसाद मैनालीलगायतले पुरस्कृत गरेका थिए ।
घरेलु समर्थकअघि गाह्रो भयो : सुमन श्रेष्ठ, प्रशिक्षक, चर्च ब्वाइज
गोल्डकप जित्दा निकै खुसी छौँ । सेमिफाइनल निकै गाह्रो भएको थियो । फाइनलमा पनि घरेलु टोलीसँग खेल्दा सोचेभन्दा कठिन भयो । समीरको आगमनले खेलमा सुधार भयो । यसले प्रतियोगिता जित्न सहज भयो । नेपाल सुपर लिगअघि अन्तिम उपाधि जित्न सफल भयौँ । समग्रमा नौ प्रतियोगिता खेल्दा आठ फाइनल खेल्यौँ । चार उपाधि जितेका छौँ । यसलाई राम्रो मान्नुपर्छ । मच्छिन्द्रसँगको सेमिफाइनल भने सधैँलाई यादगार बन्यो ।
फिनिसिङमा चुक्यौँ : मुन्ना सुब्बा, प्रशिक्षक, काँकडभिट्टा
हामी फाइनल डर्थमा चुक्यौँ । खेलाडीले राम्रो खेलेका हुन् । तर, अवसर बनाउँदा पनि गोल निस्किएन । फिनिसिङमा चुक्दा तीन–चार अवसर गुमाएका थियौँ । हामीले मिडफिल्डमा राम्रो खेल्न सकेनौँ । मिडफिल्डरबाटै फुत्केको बलमा गोल भएको थियो । डिफेन्समा केही समस्या थिएन । समग्रमा प्रतियोगितामा राम्रो गर्यौँ । खेलेको तीन प्रतियोगितामा यसैमा फाइनल पुगेका थियौँ । यो उपाधि जिताउन नसक्दा सम्पूर्ण समर्थकसँग माफी माग्छु ।