बुटवलस्थित कालिका मानवज्ञान माविका कानुन संकायमा अध्ययनरत विद्यार्थीले ‘कालिका संसद’ को अभ्यास गरेका छन् । शनिबार कानुन विद्यार्थी समाज कालिकाको आयोजनामा नमुना संसद अभ्यास गरिएको हो ।
संसदकै झल्को दिने गरी विद्यार्थीहरुले अभ्यास गरेका थिए । कार्यक्रममा संसदमा जस्तै विशेष र शून्य समयको समेत अभ्यास गरिएको थियो । सो क्रममा विद्यार्थीले रोचक र जोडदार रुपमा धारणा राखेका थिए।
कार्यक्रममा सभामुखको भूमिका काजल पाण्डे, सचिवको भूमिका सदिक्षा भट्टराई, उपसचिवको भूमिका विन्दु पौडेलले निर्वाह गरेका थिए। राष्ट्रपति दिया आचार्य, प्रधानन्त्रीको भूमिकामा विवस पाण्डेरहेका थिए । यस्तै विभिन्न मन्त्रीहरुका अतिरिक्त सचेतकको भूमिकामा पनि विद्यार्थी देखिएका थिए।
विद्यार्थीले शून्य समयमा विविध समस्यामा सरकारको ध्यानाकर्षण गराएका थिए। विशेष समयमा समसमायिक विषयमा आआफ्नो धाराणा प्रस्तुत गरेका थिए।
कर्यक्रममा विद्यार्थीले नमूना अभ्यासअन्तर्गत प्रधानमन्त्रीको चयन, संसदमा विधेयक दर्ता देखि लिएर पारित गर्ने सम्मका गतिविधि समेत गरेका थिए । विद्यालयका कानुन संकाय संयोजक युवराज कन्डेलका अनुसार विद्यार्थीमाँझ यस किसिमका अभ्यासहरु गर्दै आइरहेको बताए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ रुपन्देहीका प्रमुख माधव बन्जाडेले पछिल्लो समयमा कानुन विषय सबैको लागि अनिवार्य आवश्यकता जस्तै भएको बताएका थिए । उनले कानुन व्यवहारिक विषय समेत भएकोले विद्यार्थीले गरेको नमुना अभ्यास आफैमा गौरवपूर्ण भएको बताए।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाले व्यवहारिक अभ्यास संगै कालिका मानविज्ञान मावि अगाडि बढिरहेको बताउँदै सबैको साझा प्रयासबाट विद्यालयको नतिजा सुधारदेखि लिएर सबै क्षेत्रमा कायपलट गर्न सकिने धाराणा राखेका थिए ।
समाजका अध्यक्ष सन्जोग न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, बुटवल कालिका क्याम्पसका अध्यक्ष तथा कालिका मानवज्ञान माविका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष होम गलामी, विद्यालयका सहप्रध्यानाध्यापक पिताम्बर बन्जाडे, व्यवस्थापन ईन्चार्ज शेरचन्द गिरी, कानून संकाय इन्चार्ज विमल आत्रेयलगायतको उपस्थिति थियो।
