जयन्दु बाल सुधारगृहमा फेरि झडप, बालबन्दीसहित एक दर्जनभन्दा बढी घाइते

शनिबार, १ चैत, २०८१
डिजिटल संस्करण

डुडुवा गाउँपालिका–६ स्थित जयन्दु बाल सुधारगृहमा भएको झडप करिब १८ घण्छापछि नियन्त्रणमा आएको छ । शुक्रबार राति ११ बजे सुरु भएको झडप शनिबार दिउँसो २ बजे पूर्णरुपमा नियन्त्रणमा आएको हो।

बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार झडप नियन्त्रणका लागि भारी संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । ‘अथक प्रयास र मेहिनेतपछि झडप नियन्त्रणमा आएको छ । सुरुमा प्रहरीलाई गेटभित्र छिर्न दिइएको थिएन । सम्झाईबुझाई गरि भित्रै पसेर नियन्त्रणमा लिइएको छ,’ उनले भने।  

झडपमा ६ जना घाइते भएका छन् । दुई पक्षबिच भएको झडपले उग्ररूप लिएपछि एउटा समूहले त्यहाँ खटिएका प्रहरीमाथि आक्रमण प्रयास गरेपछि सुधार गृहमा कार्यरत प्रहरी भागेका थिए । मूलगेट तोडफोड गरी उनीहरूले प्रहरीलाई दुई किलोमिटर टाढासम्म लखेट्दै कुटपिट गरेका थिए । कुटपिटबाट आधा दर्जन प्रहरीसमेत घाइते भएका छन् । प्रहरीलाई लखेट्दै गएका बालबन्दीले स्थानीय पसलमा समेत लुटपात गरेका छन् । बालबन्दीले करिब तीन लाख रुपैयाँ बराबरको सामान, पैसा, मोबाइल र रिचार्ज कार्ड लुटेर लगेको पीडित फूलकुमारी कलवारले बताइन्। 

उनले अहिलेसम्म यस्तो घटना नदेखेको बताउँदै पसलको सटर तान्दातान्दै भित्र पसेर सामान, पैसा, मोबाइल र रिचार्ज कार्ड लुटेर लगेको बताइन् । ‘मैले यस्तो घटना अहिलेसम्म भोगेको थिएन । सटर ताने, उनीहरूले सटरमाथि उठाएर भित्र पसे,’ उनले भनिन्, ‘त्यो दृश्य अहिले पनि झलझली याद आइरहेको छ । सम्झिँदा डरले मुटु काप्छ । अहिलेसम्म राम्रोसँग बोल्न सकिरहेको छैन।’

बालबन्दीले सुधारगृह नजिकैको घरमा तोडफोड गर्नुका साथै परालको कुन्योमा लागजनी समेत गरेका छन् । बालगृहका बालबन्दीबाट आफूहरू एकदमै असुरक्षित रहेको स्थानीयले बताए। 

बालबन्दीबिच राति ११ बजेतिर झडप भएको थियो । राति केहि शान्त भए पनि बिहान ११ बजेतिर बालसुधार गृहमा रहेका अढाई सय बालबन्दी एकसाथ बाहिर निस्केको स्थानीय बताउँछन् । उनीहरुले त्यहाँ कार्यरत प्रहरीलाई दुई किलोमिटर टाढासम्म लखेट्दै कुट्पिट गरेको हेमन्तकुमार शर्माले बताए । स्थानीयले दुःख पाउन थालेपछि यसलाई व्यवस्थित बनाउन र स्थानीयको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने डुडुवा गाउँपालिका–६ का वडाध्यक्ष मोहनराम मिश्रले बताए । बालबन्दीहरू जबर्जस्ती घरभित्र पस्ने र प्रहरीले खानतलासी लिँदा स्थानीयलाई दुःख भएको उनको भनाइ छ । बाल सुधारगृह व्यवस्थित नगरिए सञ्चालन हुन नदिने उनले चेतावनीसमेत दिए। 

उक्त सुधारगृहमा ३०–३५ वर्ष उमेरका बालबन्दी भएकोले पटकपटक झडप हुने गरेको छ । केही दिनअघि मात्रै तीनजना प्रहरीमाथि कुटपिट भएको थियो । यसअघि भएको झडपमा एकजनाको मृत्युसमेत भएको थियो । झडप हुन नदिन यहाँ रहेका नाइके बालबन्दीलाई बाँके प्रशासनको निर्देशनमा प्रहरीले नौबस्तास्थित क्षेत्रीय सुधारगृहमा स्थानान्तरण गरेको थियो । त्यहाँ पनि पटक-पटक झडप हुने गरेको छ । केही भाग्न सफल भएका थिए । भागेका अझै फेला परेका छैनन्।

जयन्दु बाल सुधारगृह प्रहरी, प्रशासनका लागि सुरक्षा चुनौती बनिरहेको छ । प्रहरीले यहाँ न बल प्रयोग गर्न पाउँछ न त बर्दीको प्रहरी परिचालन नै गर्न सक्छ । ‘१८ वर्ष नपुगेलाई राख्न बनाइएको बाल सुधारगृहमा ३०–३५ वर्षकासम्मका बन्दीलाई राख्दा सधैँ लफडा हुने गरेको मानव अधिकारकर्मी भोला महतले बताए ।
 

सुझावित समाचार