उपसभामुख इन्दिरा रानाले सांसदहरूले संसदमा उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने बताएकी छन् । सरकार सदनप्रति जवाफदेही हुनुपर्ने भन्दै उपसभामुख रानाले सदनभित्र सांसदहरूले सोधेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिन्न भन्न नपाइने बताइन् । उपसभामुख रानाले सांसदहरूले पनि सभ्य र शिष्ट शैलीबाट प्रश्न सोध्नुपर्ने र प्रश्नोत्तरको गरिमा बढाउनुपर्ने धारणा राखिन् ।
शनिबार सिंहदरबारमा बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो ।
संसद् सचिवालयका महासचिव पदम पाण्डेय र सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले प्रश्नहरू धेरै सोधिएको भन्दै काटछाट गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले विरोध गर्दै पहिले नै प्रश्न बुझाउने नियम हटाउनुपर्ने धारणा राखेका थिए । प्रश्न सोध्न पाउने सांसदको स्वतन्त्रता कुण्ठित गर्न नपाइने उनको धारणा थियो ।
सत्ता र प्रतिपक्षीबिच सवालजवाफ चलेपछि उपसभामुख रानाले बैठकमा भनिन्, ‘माननीयज्यूको वाक स्वतन्त्रता पनि हुनुपर्छ । सोध्न पाउनुपर्छ । तर, सभ्य र शिष्ट तरिकाले । प्रधानमन्त्री भनेको देशको इज्जत हो । सभ्य तरिकाले सोध्नुपर्छ । प्रधानमन्त्रीले उत्तर पनि दिनुपर्छ ।’
सभामुख देवराज घिमिरेले सांसदको अधिकार कुण्ठित नहुने र सभ्य हुने गरी व्यवस्थित गरेर जानुपर्ने बताएका थिए ।
४ फागुनको प्रश्नोत्तरमा प्रभु साहले सोधेको प्रश्नमा प्रधानमन्त्री केपी ओलीले असन्तुष्टि जनाउँदै जवाफ दिएका थिएनन् । व्यक्तिगत आक्षेप लाउने प्रश्न भन्दै एमाले सांसदहरूले सदनमै प्रश्न उठाएका थिए ।
अब ७ चैतमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदै छ । २८ फागुनको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तरबारे जानकारी गराउँदै सभामुख सभ्यरूपमा प्रश्न सोध्न सांसदहरूको ध्यानाकर्षण गराएका थिए ।