जुम्लामा पुनः पानी उद्योग सञ्चालन

बाहिरी जिल्लाबाट आएको भन्दा सस्तो मूल्यमा बिक्री–वितरण

शुक्रबार, ३० फागुन, २०८१
डिजिटल संस्करण

कर्णाली प्रदेशको हिमाली क्षेत्र जुम्लामा पानी उद्योग (यार्सा मिनिरल्स वाटर) पुनः सञ्चालनमा आएको छ । ०७३ सालमा पहिलोपटक एक करोड रुपैयाँभन्दा बढीको लगानीमा स्थापना भएको उद्योग बन्द भएको केही वर्षपछि पुनः सञ्चालनमा आएको हो । पातारासी गाउँपालिका– ६, उर्थुचौतारामा स्थापित उद्योग प्राविधिक कारणले केही वर्ष बन्द भएको थियो । तर, उक्त समस्या हल भएसँगै पुनः सञ्चालनमा ल्याएको उद्योग सञ्चालक गणेश रोकायाले बताए । उनले भने, ‘पानीको जार मंसिरदेखि नै बजारमा आइसकेको छ । बोतलमा भने फागुन दोस्रो सातादेखि बजारमा आएको हो ।’ 

हिमाली जडीबुटीमिश्रित मूलको पानी शुद्धीकरण गरी जार र बोतलमा बिक्री–वितरण भएको रोकायाको भनाइ छ ।  पछिल्लो चरणमा २० लाख खर्च गरी सञ्चालनमा ल्याइएको उद्योगमा हाल तीनजना कर्मचारीले रोजगारी पाएका छन् । ‘रोजगारका लागि बिदेसिने युवाको लाम छ । स्थानीयस्तरमै केही स्वरोजगारमूलक काम गरौँ र दुई–चार युवालाई भए पनि रोजगार दिऔँ भनेर यही उद्योग सुरु गरियो,’ उनले सुनाए । 

उद्योगले अहिले प्रतिकार्टुन एक सय ९० रुपैयाँ र प्रतिजार ७० रुपैयाँसम्ममा बेचिरहेको छ । यार्सा मिनिरल्स वाटर बजारीकरण गर्दै आएका तोरनसिंह कठायतका अनुसार बाहिरको पानीभन्दा यहाँ उत्पादित पानी सस्तो मूल्यमा बिक्री भइरहेको छ । डिलरलाई एक सय ९० र अरू व्यापारीलाई दुई सय रुपैयाँमा बिक्री गर्ने गरिएको कठायतले जानकारी दिए । बाहिरबाट आएको पानी फुटकरमा प्रतिबोतल ३० रुपैयाँ, कार्टुनमा दुई ३० देखि अढाई सय रुपैयाँसम्म बिक्री भइरहेको पनि उनले बताए ।

पहिले यहाँ बिजुली नहुँदा जेनेरेटर चलाउनुपर्ने अवस्था रहेकाले पानी बाहिरको भन्दा महँगो पर्न जान्थ्यो । 

हाल करिब एक मेगावाटको चुकेनी जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन भएपछि पानी उद्योग सञ्चालन गर्न थालिएको छ, जसले गर्दा उपभोक्तालाई मूल्य पनि सस्तो पर्न गएको हो । पछिल्लो समय बिजुलीको पहुँच पुगेपछि पानीदेखि मदिरा उत्पादन गर्ने डिस्टिलरी, ग्रिललगायत साना उद्योग जिल्लामै सञ्चालन हुन थालेका छन् । जिल्लामा हालसम्म विभिन्न प्रकृतिका चार हजार चार सय ७० उद्योग दर्ता भएका छन् ।

सुझावित समाचार