सभ्य बन्दै होली : अनुमतिविना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

बिहिबार, २९ फागुन, २०८१
डिजिटल संस्करण

यहाँ आज बिहानैदेखि एक–आपसमा रङ खेली फागुपूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी होली पर्व मनाउनेले अनुमतिविना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ ।

केही वर्षअघिसम्म होलीका दिन घरबाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । जबर्जस्त अबिरलगायत रङ दलेर मानिस नचिनिने गरी रंग्याइन्थ्यो । रङ र पानी मिलाएर घोलिएको रासायनिक पदार्थले बटुवालाई समस्या पारिन्थ्यो । विगत केही वर्ष अघिदेखि सांस्कृतिक सहर काठमाडौंमा फागुपूर्णिमा अर्थात् होली पर्व अनुशासित भइरहेको देखिन थालेको छ । फागु पर्व नमनाएका मानिस सडकमा हिँड्दा पनि कसैले पानी र रङ लगाइदिएको छैन ।

सामान्यतया यो वर्ष कसैले पनि अन्यको इच्छाविपरीत फागुपूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन । मानिस आफू आफूमै रमाए । घरपरिवार एवं छरछिमकीसँग फागु खेले । टीका लगाइदिए । खुसी साटासाट गरे । आपसी सौहार्दता बढाए । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा (होली) पर्व राजधानीलगायत पहाडी र हिमाली जिल्लामा आज अपेक्षाकृत शान्त रूपमा मनाउन थालिएको छ । 

केही वर्षअघिसम्म फागुपूर्णिमा (होली)मा मानिसको इच्छाविपरीत रङ दल्ने, पानीका लोला हान्ने गरिन्थ्यो । केही वर्षअघिदेखि त्यस्तो काम रोकिएको छ । सडकमा फागु खेल्ने प्रायः बालबालिका थिए । बालबालिकाले पनि विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेका छैनन् । गाडी ‘रिजर्भ’ गरेर होली खेल्दै हिँड्ने मानिसको भिड नगन्य छ । जोरपाटी चोकमा फागु पर्व मनाइरहेका युवा मंगलबहादुर तामाङ चिनजानका साथीभाइबिच मात्र पर्व मनाउने सडकमा सवारी र पैदल यात्रा गर्नेलाई केही नगर्ने बताउँछन् ।

विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रूपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वकै दिन पनि सहज रूपमा हिँडडुल गर्न सकेको सडकमा भेटिएका धेरैले बताए । कतै अपवादका रूपमा जबर्जस्ती रङ लगाए पनि फोहर पानीले दुर्व्यवहार गरेको देखिएन। फुर्सद भएकाले सडकमा पर्व मनाए पनि जरुरी काम परेर बाहिर निस्कनुपर्नेलाई इच्छाविपरीत रङ दलिदिँदा केही वर्ष अघिसम्म धेरै तनावपूर्ण वातावरण बन्ने गरेको थियो । रासस

सुझावित समाचार