थ्री स्टारले जित्यो विराट गोल्डकप

बिहिबार, २९ फागुन, २०८१
डिजिटल संस्करण

ललितपुरको थ्री स्टार क्लबले नवौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहिद रंगशालामा बुधबार भएको फाइनलमा थ्री स्टारले उत्कृष्ट फर्ममा रहेको चर्च ब्वाइज युनाइटेडलाई २–० ले हराउँदै उपाधि हात पारेको हो । थ्री स्टारले दोस्रोपटक ट्रफी उचालेको हो । थ्री स्टारका खेमराज श्रेष्ठले पाँचौँ मिनेटमा १–० को अग्रता दिलाएका थिए । खेलको ६३औँ मिनेटमा दीपेश घलेले थ्री स्टारलाई २–० को अग्रता दिलाएका थिए । च्याम्पियन थ्री स्टारले ११ लाख र उपविजेता चर्च ब्वाइजले पाँच लाख रुपैयाँ पाएका छन् । 

फाइनलका म्यान अफ द म्याच थ्री स्टारका कप्तान एकराज बुढाथोकी भए । उनले ११ हजार रुपैयाँ पाएका छन् । विधागत पुरस्कारमा पनि थ्री स्टार हावी रह्यो । उत्कृष्ट प्रशिक्षक थ्री स्टारका गणेश खड्का घोषित भए । उत्कृष्ट गोलरक्षक थ्री स्टारका विवेक मगर र उच्च गोलकर्ता पनि थ्री स्टारका दीपेश घले घोषित भए । प्रतियोगितामा उनले दुई गोल गरेका थिए । उत्कृष्ट खेलाडीले १५ हजार पाए । गोल्डकपका सर्वोकृष्ट खेलाडी भएका थ्री स्टारका खेमराज श्रेष्ठले ५१ हजार रुपैयाँ पाए । 

थ्री स्टारले क्वार्टरफाइनलमा मच्छिन्द्र र सेमिफाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै अन्तिम दुई स्थान पक्का गरेको थियो । पहिलोपटक फाइनलमा स्थान पक्का गर्ने क्रममा चर्च ब्वाइजले एनआरटीलाई क्वार्टरफाइनलमा १–० र सेमिफाइनलमा नेपाल पुलिसलाई १–० ले हराएको थियो । १९ फागुनबाट सुरु भएको गोल्डकपमा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टोलीले भाग लिएका थिए । 

सुझावित समाचार