चारदेशीय टी–२० सिरिज : नेपालको फाइनल पुग्ने सम्भावना कमजोर

बिहिबार, २९ फागुन, २०८१
डिजिटल संस्करण

युगान्डामा चलिरहेको चारदेशीय टी–२० क्रिकेट प्रतियोगितामा नेपाली महिला राष्ट्रिय टोलीको फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । सिरिजअन्तर्गत बुधबारदेखि सुरु डबल राउन्डको प्रतिस्पर्धामा नामिबियासँग नेपाल २३ रनले पराजित भयो । सिरिजमा नेपालको यो तेस्रो हार हो । नामिबियाले नेपाललाई दुईपटक नै हरायो । चार खेलमा नेपालले एक मात्र जित निकालेको छ । २ अंकका साथ नेपाल चौथो स्थानमा छ । पहिलो चरणमा नेपालले युगान्डामाथि सनसनी रूपमा एक विकेटको जित निकालेको थियो । 

नामिबियाले नेपालविरुद्ध आफ्नो दोस्रो भेटमा २० ओभरमा आठ विकेटको क्षतिमा १२५ रनको योगफल खडा गर्यो । प्रत्युत्तरमा नेपालले २० ओभरमा पाँच विकेटको क्षतिमा १०२ रन मात्र बनाएको थियो । प्रतिस्पर्धामा कप्तान इन्दु बर्मा टी–२० आईमा नेपालबाट धेरै क्याच लिने फिल्डर बनेकी छिन् । उनले पूर्वकप्तान रुविना क्षेत्रीको नाममा रहेको २३ सर्वाधिक क्याचको रेकर्ड तोडेकी हुन् । इन्दुले आफ्नो नाममा सर्वाधिक २४ क्याच लेखाएकी छिन् । 

फेरि पनि फितलो ब्याटिङ
नामिबियाविरुद्ध १२५ रन पछ्याएको नेपालले इनिङ्सको २.३ ओभरमा ओपनर सम्झना खड्कालाई गुमाएको थियो । यू–१९ टोलीकी कप्तान पूजा महतो र सना प्रवीणले दोस्रो विकेटका लागि २५ रनको साझेदारी गरेकी थिइन् । इनिङ्सको ६.४ ओभरमा पूजाले आफ्नो विकेट गुमाइन् । उनले १४ बलमा दुई चौकाको सहयोगमा १५ रन जोडिन् । कप्तान इन्दुले सनासँग तेस्रो विकेटका लागि २९ रनको साझेदारी गरेकी थिइन् । इन्दुले १५ बलमा एक चौकाको सहयोगमा १५ रन बनाइन् । मध्यक्रममा पूर्वकप्तान रुविनाले १६ बलमा ७ रन बनाउँदा नेपाल रनरेटमा पछि पर्यो । कविता जोशीले नामिबियाविरुद्ध १९ बलमा १७ रन बनाइन् । सना १४.१ ओभरमा आउट भइन् । उनले ३७ बलमा एक चौकाको मद्दतमा ३१ रनको योगदान दिइन् । नामिबियाविरुद्ध ईश्वरी विष्टले तीन विकेट लिइन् । 

सुझावित समाचार