नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला

बुधबार, २८ फागुन, २०८१
डिजिटल संस्करण

नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौँ समूहका लागि आवेदन खुला गरेको छ । सामाजिक उद्यमशीलताको प्रवद्र्धन गर्ने लक्ष्यका साथ सुरु गरिएको यस कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान पुर्याउने सोच भएका व्यक्तिहरू सहभागी हुन सक्नेछन् । इच्छुक व्यक्तिहरूले आगामी चैत २५ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । 

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा सञ्चालन भइरहेको नबिल एसएसई फेलोसिप कार्यक्रम ६ महिनासम्म सञ्चालन हुनेछ । जसमा १८ दिनको निःशुल्क आवासीय तालिम र एक वर्षको परामर्श कार्यक्रम समावेश छ । यसमार्फत हालसम्म तीनवटा समूहका ५६ उद्यमीले तालिम लिइसकेका छन् भने ४५ सामाजिक उद्यममार्फत एक हजार एक सय ८४ जनालाई रोजगारी दिइसकेको छ । कार्यक्रमअन्तर्गत हाल चौथो समूहका २० उद्यमीले प्रशिक्षण लिइरहेका छन् भने पाँचौँ समूहमा पनि देशभरिबाट आएका आवेदनबाट २० जना छनोट हुने बैंकले जनाएको छ ।  

कार्यक्रममा सहभागिताका लागि केवल १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने योग्यता तोकिएको छ । व्यवसाय सुरु गरिसकेका तथा नवीन उद्यमशीलता सोच भएका व्यक्तिले यस कार्यक्रममा आवेदन भर्न सकिनेछ । कार्यक्रममा सहभागिताका लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिपको फेसबुक पेजमा उपलब्ध क्युआर कोड स्क्यान गरेर आवेदन दिन सकिन्छ । साथै, नबिल बैंकको वेबसाइटबाट फाराम डाउनलोड गरी इमेलमार्फत पठाउन पनि सकिन्छ ।

यस कार्यक्रममा जीविकोपार्जन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, कला, सामुदायिक विकास, कृषि, ऊर्जाका साथै दिगो विकासका लक्ष्यसँग मेल खाने क्षेत्रमा काम गरिरहेका उद्यमीहरू कार्यक्रममा सहभागी हुन सक्नेछन् । कार्यक्रमले विभिन्न क्षेत्रका उद्यमीलाई एकै ठाउँ ल्याई अनुभवी मार्गदर्शक र उद्योग विशेषज्ञबाट प्रशिक्षण दिने बैंकले जनाएको छ । नबिल एसएसईअन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्समार्फत हालसम्म एक सय १७ उद्यम स्थापना भई एक हजार दुई सयभन्दा बढी रोजगारी सिर्जना भइसकेको बैंकले जनाएको छ । 

सुझावित समाचार