भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरी, जलेश्वरका खरिदार र लेखापढी व्यवसायी ३५ हजार घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनीहरूलाई मंगलबार घुस लिइरहेको वेला पक्राउ गरेको हो।
अख्तियार टोलीले एकडारा गाउँपालिका–६ निवासी २६ वर्षीय मुद्दा फाँटका खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जलेश्वर नगरपालिका–७ वेलानिवासी जिवछ महतोलाई कार्यालयबाटै पक्राउ गरेको हो। प्रत्यक्षदर्शीका अनुसार टोलीले खरिदार दासको साथबाट तीन सय र लेखापढी व्यवसायी महतोको साथबाट ३५ हजार रकम बरामद गरेको छ। उनीहरूलाई अख्तियार टोलीले नियन्त्रणमा लिएर बर्दिवास गएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासका सहायक प्रवक्ता तथा सूचना अधिकारी देवीप्रसाद थपलियाले भने खरिदार र लेखनदास प्रक्राउबारे जानकारी नभएकोे बताए। उनले टोलीले जानकारी उपलब्ध गराएपछि मात्र यस सम्बन्धमा बोल्न मिल्ने बताए।