समाजवादी मोर्चाले आगामी चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौंमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको बैठकले फासीवादी हर्कतविरुद्ध विरोध प्रदर्शन र विरोध सभा आयोजना गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए।
यसअघि मोर्चाले चैत २४ गते गणतन्त्रका पक्षमा ऐतिहासिक कार्यक्रम गर्ने निर्णय गरेको थियो। तर, पछिल्ला राजनीतिक घटनाक्रमलाई विचार गरेर कार्यक्रमको मिति अघि सारिएको प्रकाण्डले बताए।
‘चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा एवं प्रतिगामी र प्रतिगमनकारी हर्कतको खिलाफमा, फासीवादी हर्कतको खिलाफमा हजारौँ जनताले काठमाडौंमा विरोध प्रदर्शन र विरोध सभा आयोजना गर्ने निर्णय लिइएको छ,’ बैठकपछि पत्रकारहरूसँग प्रकाण्डले भने।