सप्तरी प्रहरीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन शनिबारसम्मका लागि विशेष सुरक्षा योजना लागू गरेको छ। सुरक्षा योजनाअन्तर्गत ५ सय बढी प्रहरी परिचालन गरिएको छ भने ड्रोनबाट निगरानी गर्ने व्यवस्था मिलाइएको छ।
सप्तरीका एसपी ढकेन्द्र खतिवडाले होली पर्वलाई लक्षित गरी बुधबारदेखि शनिबारसम्मका लागि विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिए। सादा पोसाक, रिजर्भ टोली, गाडी, मोबाइल, पिकेट ड्युटी, पैदल गस्ती, चेकिङ टोली, आकस्मिक चेकिङ, क्युआरटी परिचालन गरिने उनले बताए।
‘विशेष गरी नेपाल–भारत सीमा क्षेत्रको सुरक्षामा विशेष कडाइ गरिएको छ,’ उनले भने। होली पर्व सौहार्दपूर्ण रहोस् भन्ने उद्देश्यसहित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ।
यसैगरी, प्रहरीले ट्रेकिङ, मापसे, लापसे तथा थप पिकेट ड्युटीका लागि पनि छुट्टै प्रहरी टोली परिचालन गरेको जनाएको छ। प्रहरीले ढुक्कसँग मर्यादित भएर होली मनाउन आग्रह गरेको छ।
होलीमा अनुमतिविपरीत कसैलाई पनि रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला र झैझगडा गर्नेलगायत उच्छृंखल गतिविधि नियन्त्रणमा ल्याउँदै तत्काल कारबाही गरिने एसपी खतिवडाले बताए।