गैरआवासीय नेपाली भवन भट्ट नेतृत्वको बिबी एयरवेजले आज भुटानको ड्रुक एयरको जहाज ड्याम्प लिजमा लिएर प्रुभिङ फ्लाइट गर्ने भएको छ । बिबीले बिहान साढे नौ बजे काठमाडौं–पारो (भुटान)–काठमाडौं रुटमा डमोस्ट्रेसन फ्लाइट गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट अनुमति पाएको छ ।
बिबी एयरवेजले २७ फागुनभित्र (११ मार्च २०२५) आफ्नै तीनवटा जहाज ल्याउने २९ फागुन ०८० (१२ मार्च २०२४) मा क्यानबाट अनुमति पाएको थियो । यो अवधिभित्र आफ्नै जहाज ल्याएर प्रुभिङ फ्लाइट गर्नुपर्नेमा लाइसेन्स जोगाउनकै लागि म्याद सकिन एक दिनअगाडि भाडाको जहाज ल्याएर प्रुभिङ फ्लाइट गर्न बिबी एयरवेजले अनुमति पाएको हो । वित्तीय अवस्था कमजोर भएकै कारण बिबीले निर्धारित समयभित्र जहाज ल्याउन नसकेको देखिन्छ ।
बिबी एयरवेजले भाडाको जहाजबाट प्रुभिङ फ्लाइट गर्ने अनुमति पाएको क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । भुटानको पारो विमानस्थलबाट यात्रु बोकेर काठमाडौं आउने ड्रुक एयरको जहाजलाई प्रुभिङ फ्लाइटमा प्रयोग गरिनेछ । अनुमति पाएको एक वर्षभित्र जहाज ल्याउन नसकेमा एओसी प्राप्तिको बाटो बन्द हुने थियो । यसैले हतार–हतार भाडाको जहाज ल्याएरै भए पनि प्रुभिङ फ्लाइट गर्न गलत बाटो समातेको स्रोत बताउँछ ।