सांसदहरूले राजा फर्काउने गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा पछिल्ला दिनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटी फर्काउने भनेर भइरहेका गतिविधिप्रति ध्यानाकर्षण गराउँदै सांसदहरूले नियन्त्रण गर्न सरकारलाई सचेत गराएका हुन् । सांसदहरूले यो अवस्थामा राष्ट्रिय सहमति गरेर अगाडि बढ्न सुझावसमेत दिएका छन् ।
कांग्रेसका युवराज शर्माले दक्षिणपन्थ, अनुदारवाद, पाखण्डको जवाफ प्रगतिशीलता, जवाफदेहिता र आदर्शवादबाट दिनुपर्ने बताए । ‘संविधान हातमा होइन माथमा धारण गर्दै जनताको असन्तुष्टिलाई सम्बोधन गरी सुशासन कायम गर्दै हाम्रोको ठाउँमा राम्रोलाई स्थापित गर्दै अगाडि बढ्नुपर्छ,’ उनले भने । एमालेकी इन्दिरादेवी गौतमले समाजको वितृष्णा र अराजकतालाई नियन्त्रण गर्दै युवा पुस्तामा आशा जगाएर अगाडि बढ्न सरकारलाई सुझाव दिइन् ।
माओवादीका सुरेश आलेमगरले आर्यघाटमा सेलाइसकेको २५० वर्ष पुरानो राजतन्त्र फर्काउन केही प्रतिगामी तत्व सल्बलाइरहेको र त्यसका भूतहरू फेरि बौरिएर आई राजतन्त्रको कुरा गरिरहेको टिप्पणी गर्दै राजतन्त्र फर्केर के हुन्छ भनेर प्रश्न गरे । ‘राजतन्त्र यो देशमा थियो । जसले फर्काउन चाहिरहेका छन्, फर्केर हुन्छ के त ?’ उनले सोधे, ‘नेपालमा गणतन्त्र आएको १५–१६ वर्ष न भयो । त्योभन्दा अगाडि २५० वर्ष राजतन्त्र नै थियो । त्यतिवेला देश झन्–झन् ओरालो लाग्दै गएको थियो । त्यही राजतन्त्र ल्याएर के गर्न खोज्नुभएको उहाँहरूले ? राजतन्त्र नेपाली जनताले झेलिसकेको व्यवस्था हो । त्यही राजतन्त्र ल्याएर हुन्छ के ?’
एकीकृत समाजवादीकी जयन्तीदेवी राईले मसानघाटमा पुर्याएको राजतन्त्र कुर्लिरहेको र यसले राजनीतिक अस्थिरता पैदा गर्ने भन्दै सबै सजग रहनुपर्ने बताइन् । ‘यतिवेला फेरि प्रतिगामी तत्व कुर्लिंदै छ, ब्युझिँदै छ । संविधान उल्लंघन गर्न खोजिरहेको छ । ६८ वर्षसम्म लडेर प्राप्त गरेका अधिकार खोस्न चाहँदै छ । संघीय लोकतन्त्रमाथि धावा बोलिरहेको छ । संविधानबाट प्राप्त अधिकार दिनदिनै कमजोर बन्दै गएको छ,’ उनले भनिन् । राईले संविधानलाई अझै कार्यान्वयनतर्फ अगाडि बढाएर असन्तुष्टिका स्वरहरू चिर्नुपर्नेमा जोड दिइन् । समाजवादीकै उदयबहादुर सापकोटाले सरकारको कार्यशैली नसच्चिए व्यवस्थामाथि ठूलो समस्या आउने चेतावनी दिए ।
जसपा नेपालका महोम्मद खालिदले धेरै संघर्ष र कष्ट गरेर संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको भन्दै त्यसविरुद्ध सडकमा देखिएको दृश्यका सन्दर्भमा सरकारले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए । दलहरूले पनि आफ्नो पोजिसन क्लियर गर्नुपर्ने उनको भनाइ थियो । संघीय लोकतान्त्रिक गणतन्त्र चाहिनेलाई प्रतिगमन चाहिएको हो भनेर उनले प्रश्न गरे । ‘यसको सट्टा यो भन्नुपर्ने कि यो राष्ट्रलाई म बनाउँछु भन्नुपर्ने, यदि हिम्मत छ भने यो भनोस्,’ उनले भने ।
राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए । ‘राजा फर्काउने कुरा सडकमा चर्काे सुनिन थालेको छ । नारायणहिटी प्रवेश गराउने भनेर केही मानिस कुर्लिंदै हिँडेको पनि देखिरहेका छौँ । सकिसकेको राजतन्त्र फेरि ज्युँदो गराएर फर्काउने प्रयासमा केही समूह लागेको छ,’ उनले भने, ‘यसरी नेपाली जनताको रगत र पसिना बगाएर बलिदानले ल्याएको बहुदलीय व्यवस्था, संघीय लोकतान्त्रिक व्यवस्थामाथि आज धावा बोल्ने काम भइरहेको छ । तर, गणतन्त्रको विकल्प राजतन्त्र कहिल्यै र कुनै हालतमा हुन सक्दैन ।’