भ्रष्टाचारी ठहर कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहलाई नेतृत्वको संरक्षण : सानेपामा फेरि आन्दोलनको तयारी

देउवानिकट सुरेन्द्रप्रसाद सिंह वन मासेर भ्रष्टाचार गरेको मुद्दामा सर्वोच्च अदालतबाट समेत सजाय पाएपछि पनि जिल्ला सभापतिकै हैसियतमा सक्रिय छन्

सोमबार, २६ फागुन, २०८१
डिजिटल संस्करण

भ्रष्टाचार मुद्दामा दोषी ठहर कांग्रेस सर्लाही सभापति सुरेन्द्रप्रसाद सिंहलाई बर्खास्तीको मागमा पटक–पटक बेवास्ता गरेपछि फेरि आन्दोलनको तयारी थालिएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा गत १३ र १४ माघमा धर्ना गरिएको थियो । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले २५ माघभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएसँगै धर्ना स्थगित भएको थियो । तर, लामो समयसम्म पनि यसबारे नेतृत्व मौन रहेपछि फेरि आन्दोलनको तयारी गरिएको हो ।

 सर्लाही कांग्रेस उपसभापति नवीन अधिकारीले नेतृत्वको अनुरोधलाई स्वीकार गर्दै यसअघि धर्ना स्थगित गरिएको, तर माग सम्बोधनका लागि कुनै पहल नभएको भन्दै निर्णायक आन्दोलन गर्ने बताए । ‘पार्टी उपसभापति र महामन्त्रीहरूले नै समय दिएपछि हामीले मानेका हौँ, तर यस अवधिमा कुनै निर्णय भएन । अब ८ चैतदेखि हाम्रो आन्दोलन सुरु हुन्छ । पार्टी कार्यालयमै खाने, बस्ने गरी रिले अनशन र धर्ना दिइन्छ,’ उनले भने । अधिकारीले करिब सयजनाको टोली ७ चैतमा सर्लाहीबाट काठमाडौं हिँड्ने बताए । कांग्रेस नेताहरूले १६ माघमा सानेपामा ‘नेपाल स्टार्ट–अप र साना तथा मझौला व्यवसाय सम्मेलन’ हुने भएकाले धर्ना स्थगित गर्न र पार्टी बैठक बसेर टुंगो लगाउने बताएका थिए । 

सिंह सर्लाहीको तत्कालीन मनुस्मारा सिँचाइ आयोजना प्रथम चरणको जल उपभोक्ता समितिको अध्यक्ष रहँदा गरेको आर्थिक अनियमितता मुद्दामा विशेष अदालतले दोषी ठहर गर्दै उनलाई कैद र जरिवाना सुनाएको थियो । सो आदेशविरुद्ध सिंहले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । गत १५ फागुनमा सर्वोच्चले पनि विशेषको फैसला सदर गर्दै दोषी ठहर गरेको थियो । सर्वोच्चले उनीविरुद्ध चार महिना १५ दिन कैद र एक करोड २३ लाख रुपैयाँ बिगो भराउने फैसला गरेको थियो । तर, कांग्रेस सभापति शेरबहादुर देउवानिकट उनी दोषी ठहर भएपछि पनि जिल्ला सभापतिकै हैसियतमा सक्रिय छन् ।

सर्वोच्चको फैसलापछि कांग्रेस सर्लाहीले पार्टी केन्द्रलाई नयाँ जिल्ला सभापति चयनको प्रक्रिया थाल्न पटक–पटक ध्यानाकर्षण गराएको थियो । यसबिचमा कांग्रेस सर्लाहीले नेतृत्वलाई दुईपटक औपचारिक पत्र पठाएको थियो । साथै, पटक–पटक नेतृत्वलाई भेटेर जानकारी गराएको थियो । यसअघि उनीहरू २४ पुसमा सानेपामा धर्ना बसेका थिए । 

सुझावित समाचार