कैलालीको टीकापुरमा पास्टरले छोएर रोग निको पार्ने भन्दै सर्वसाधारणबाट लाखौँ रुपैयाँ उठाएर ठगी गरिएको छ । अनुग्रह चर्च नेपालका नाममा २१ र २२ फागुनमा टीकापुरमा प्रार्थना–सभा आयोजना गरिएको थियो । जुन सभामा भारतका प्रोफेट बजिन्दर सिंह सहभागी भएका थिए ।
प्रभुको दासका रूपमा प्रचार गरिएका सिंहले छोएमा शारीरिक अपांगतालगायत रोग निको हुने र मुक्तिको मार्ग प्राप्त हुने भन्दै चर्चसँग सम्बन्धित व्यक्तिले सर्वसाधारणबाट पैसा उठाएको पाइएको हो । सर्वसाधारणबाट त्यसरी उठाइएको पाँच लाख ९८ हजार टीकापुर प्रहरीले फिर्ता गराएको छ ।
धर्मगुरु प्रोफेट सिंहले छोएमा हिँडडुल गर्न नसक्ने अपांगता भएका व्यक्ति हिँडडुल गर्न सक्ने र रोग निको हुने भनेर सर्वसाधारणबाट पैसा उठाइएको हो । तर, पैसा तिरेर पनि प्रार्थना–सभामा सिंहलाई छुन नपाएको भन्दै २३ जनाले इलाका प्रहरी कार्यालय टीकापुरमा गुनासो गरेका थिए ।
नागरिकको गुनासो आएपछि नौ लाख ९८ हजार फिर्ता गराइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनराज बुढाथोकीले बताए । जनगुनासोको आधारमा प्रहरीले बिहीबार प्रार्थना–सभामा आएका दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको थियो । पैसा फिर्ता गरेपछि प्रहरीले मध्यराति छोडेको थियो । रकम फिर्ता गराइएका २३ जनामध्ये दाङ र बुटवलका समेत रहेका प्रहरीले जनाएको छ ।
प्रार्थना–सभामा कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङदेखि बुटवलसम्मबाट समेत सर्वसाधारण सहभागी भएका बताइएको छ । तर, छोएपछि निको हुने आश्वासन दिएर सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगीमा संलग्न भारतीय नागरिकलाई कारबाही गर्नुको साटो पैसा फिर्ता गराएर छोडेको भन्दै प्रहरीको आलोचना भएको छ ।
दुई दिनको प्रार्थना–सभा सकेर सिंह बिहीबार नै भारत फर्किएका छन् । टीकापुर प्रहरीका अनुसार उनको सुरक्षामा हतियारविनाका भारतीय सुरक्षाकर्मीसमेत आएका थिए ।
प्रार्थना–सभा आयोजनामा संलग्न सातजनालाई इलाका प्रहरी कार्यालय टीकापुरले शुक्रबार पक्राउ गरेको छ । प्रार्थना–सभाका नाममा पैसा उठाएको बाहिर आएपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । पक्राउ परेकालाई जिल्ला प्रशासन कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन ।