प्रेरक प्रसंग : अहिलेचाहिँ म के गरिरहेको छु त ?

आइतबार, २५ फागुन, २०८१
डिजिटल संस्करण

एकपटक इटलीका एक व्यापारीले आफ्नो व्यस्त दैनिकीको तनावबाट छोटो फुर्सद लिएर समुद्री किनारामा डुल्दै गर्दा एउटा सानो डुंगामा केही माछा मारेर फर्किंदै गरेको माझीलाई देखे । व्यापारीले माझीलाई सोधे– तिमीलाई यति थोरै माछा समात्न कति समय लाग्छ ? माझीले जवाफ दिए– खासै लामो समय लाग्दैन । 

व्यापारीले पुनः प्रश्न गरे– अनि तिमी किन थप माछा समात्न प्रयास गर्दैनौ त ? माझीले प्रतिप्रश्न गरे– थप माछा किन समात्ने ? मेरो सम्पूर्ण परिवारलाई खुवाउन यति नै पर्याप्त छ । अझ यसैबाट म मेरा छिमेकीलाई खुवाउन पनि सक्छु । व्यापारीले पुनः प्रश्न गरे– त्यसो भए तिमी बाँकी समय के गर्छौ ? 

माझीले जवाफ दिए– बिहान माछा समातिसकेपछि म घर फर्किन्छु । श्रीमतीलाई अँगालेर चुम्बन गर्छु । बच्चाहरूसँग खेल्छु । दिउँसो एकछिन सुत्छु र उठेपछि केही समय पढ्छु । साँझमा, साथीहरूसँग गितार बजाउन, गाउन र नाच्न जान्छु ।

व्यापारीले भने– मैले व्यवसायमा पिएचडी गरेको छु । म तिमीलाई सफल हुन मद्दत गर्न सक्छु । अबदेखि तिमी समुद्रमा लामो समय बिताऊ र सकेसम्म धेरै माछा समात । त्यसबाट तिमीले पर्याप्त रकम बचत गर्न सक्छौ । त्यसपछि थप माछा सामात्न ठुलो डुंगा किन । त्यसबाट थप डुंगा किन्न र कम्पनी स्थापना गर्न समर्थ हुनेछौ । अनि, तिमी आफ्नो व्यवसायलाई ठुला सहरमा पनि विस्तार गर्न सक्नेछौ । 

माझीले प्रश्न गरे– अनि त्यसपछि ? व्यापारीले हाँस्दै भने– त्यसपछि तिमी राजाजस्तै जीवन बाँच्न सक्नेछौ । आफ्नो कम्पनीलाई जनतामाझ लगेर सेयर बेचेर थप धनी बन्न सक्नेछौ । माझीले पुनः प्रश्न गरे– त्यसपछि ? 

त्यसपछि, तिमी व्यवसायबाट अवकाश लिएर समुद्रको किनारमा घुम्न सक्छौ । बिहान सबेरै उठेर माछा मार्न सक्छौ । आफ्ना बालबालिकासँग खेल्न सक्छौ । श्रीमतीसँग रमाइलो समय बिताउन सक्छौ । दिउँसो सुतेर आराम गर्न सक्छौ । राति आफ्ना साथीहरूसँग रमाइलो गर्न सक्छौ । छक्क पर्दै माझीले प्रश्न गरे– अनि अहिलेचाहिँ म के गरिरहेको छु त ?

सुझावित समाचार