ग्रेस गुराँसलाई तेस्रो जेसिज कपको उपाधि

शनिबार, २४ फागुन, २०८१
डिजिटल संस्करण

तेस्रो जेसिज कपको उपाधि ग्रेस गुराँस गुठी युनाइटेडले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा बाग्लुङ सुधार केन्द्रलाई हराउँदै ग्रेस गुराँसले उपाधि चुमेको हो । 

ग्रेस गुराँसले सुधार केन्द्रलाई ४–३ को अन्तरले पराजित गरेर च्याम्पिएन बनेको हो । खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेका थिएनन् । खेलको ५६औं मिनेटमा ग्रेस गुराँसका विराट खत्रीले पहिलो गोल गरेर अग्रता कायम गरे । खेलको ५७औं मिनेटमा सुधार केन्द्रका घानाका खेलाडी ऐबेख रिचार्डले गोल फर्कापछि बराबरी भएको थियो । बराबरी भएको खेलको अन्तिमसम्म दुवै टिमले थप गोल गर्न सकेनन । खेलमा पुन ७÷७ मिनेट थप गरिएको थियो । थप समयमा पनि दुवै तर्फबाट गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा पुग्यो । 

पेनाल्टी सुटआउटमा ग्रेस गुराँसले ४ गोल गरेर च्याम्पिएन बन्यो भने सुधार केन्द्रले ३ गोलमा नै रनरअप बनेर चित्त बुझाउनु प¥यो । साविक विजेता सुधार केन्द्रले यसपटक उपविजेतामा चित्त बुझाउनु पर्यो । 

पेनाल्टी सुट आउटमा ग्रेस गुराँसका लागि सम्राट लिम्बू, जेनिस प्रजापति, विवेक थापा र मनिष ठकुरीले गोल गरेका थिए । सुधार केन्द्रका राहुल गुरुङ, निशान थापा र शुशिल लामाले गोल गरेका थिए भने रोशन क्षेत्री र प्रसन्न श्रेष्ठले गोल गुमाउँदा उपविजेतामा चित्त बुझाउन सुधार केन्द्र बाध्य भयो । 

प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक बाग्लुङ जेसिजका अध्यक्ष सुसान्तकृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमले १५ हजार रुपैयाँ प्राप्त गरेको छ भने अनुशासित टिमले पाँच हजार प्राप्त गरेका छन् । यस्तै, विधागततर्फ प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षकले नगद ५–५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको आयोजकले जनाएको छ । १८ फागुनमा सञ्चालन भएको खेलमा प्लेयर अफ दि म्याच हुने खेलाडीलाई समेत पुरस्कृत गरिएको थियो । 
 

सुझावित समाचार