गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले गाँजा खेतीलाई कसरी वैध गराउने विषयमा संसदमा छलफल गर्ने बताए। उनले प्रदेश सरकारले यसलाई कसरी वैध बनाउने भन्ने विषयको कानुन निर्माणको लागि संसदमा विधेयक पेस गर्ने अवस्थामा रहेको र उक्त विधेयकमाथि छलफल गरी उपयुक्त कानुन निर्माण गर्ने बताए।
शनिबार बागलुङमा अन्नपूर्ण मल्टिमिडिया एसोसियसनद्वारा सञ्चालित साझा जनआवाज अनलाइन मिडियाको शुभारम्भ कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले गाँजा र स्थानीय मदिरालाई वैध बनाउनका निम्ति संसदमा विधेयक ल्याउने तयारी रहेको र त्यसका बारेमा घनीभूत रूपमा छलफल गरेर कानुन निर्माण गर्ने बताए। उनले गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा उत्पादन हुने गाँजालाई उचित कानुन बनाएर वैध गराई यसलाई आम्दानीको स्रोतसँग जोड्नुपर्ने बताए ।
धितालले अहिले हिउँदे अधिवेशन चलिरहेको र संसदमा मगर र गुरुङ भाषालाई कामकाजको भाषा बनाउने विषयमा छलफल भएको र यसका बारेमा कानुन निर्माणको प्रक्रियामा रहेको बताए। ‘गण्डकी प्रदेशले मगर र गुरुङ भाषालाई सरकारी कामकाजका भाषाको रूपमा ल्याउनका निम्ति संसदमा कानुन निर्माणको प्रक्रियाको थालनी गरेको छ। यसको बारेमा संसदमा छलफल भएको छ सभामुख धितालले भने, ‘केन्द्र सरकारले यसलाई मातृभाषाको रूपमा घोषणा गरिसकेको छ।
प्रदेशमा यसको उचित कानुन बनाएर छिट्टै व्यवस्थापन गर्नेछौँ।’ उनले प्रदेश सभा सदस्यको मुख्य काम कानुन र नीति निर्माण रहेको हुँदा हाल रहेका कानुनका बारेमा जनतासँग समन्वय उचित रायसुझावसमेत लिनुपर्ने बताए। धितालले सांसदहरूले नीति निर्माण र विकास निर्माण भएका कामलाई सँगै लैजानुपर्ने बताए। उनले सरकारले जस्ता कानुन ल्यायो संसदबाट छलफल नगरी हुबहु पारित गर्न नहुने बताए।
उनले प्रविधिको विकाससँगै पछिल्लो समयमा अनलाइन सञ्चारमाध्यमको धेरै विकास भएको हुँदा यसलाई व्यवस्थित गरेर सञ्चालन गर्नुपर्ने बताए। धितालले सञ्चारमाध्यम आमजनताको आवाज बोल्ने माध्यमको रूपमा विकास हुनुपर्नेमा जोड दिए।