सन् २०२६ को संस्करणमा ४८ राष्ट्रबिच प्रतिस्पर्धा हुने निर्णय फिफाले गरिसकेको छ, विश्वकप सय वर्ष पुगेको अवसरमा सन् २०३० मा थप १६ राष्ट्रलाई पनि मौका दिने फिफाको तयारी
- सन् २०३० को विश्वकपमा ६ राष्ट्र आयोजक हुनेछन् । दक्षिण अमेरिकी राष्ट्रहरू मुख्य आयोजक र स्पेन, पोर्चुगल र मोरोक्को सहआयोजक बन्नेछन् । फिफाले पहिलोपटक एउटै संस्करण ६ राष्ट्रलाई आयोजना गर्न दिएको हो ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रत्येक विश्वकपको संस्करण परिमार्जित गर्दै लगेको छ । फिफाले सन् २०३० को विश्वकपमा ६४ राष्ट्र पुर्याउने तयारी गरेको छ । दक्षिण अमेरिकी राष्ट्रहरूले पाँच वर्षपछि आयोजना हुने प्रतियोगितामा धेरैभन्दा धेरै राष्ट्रलाई प्रतिस्पर्धा गराउने उद्देश्यका साथ फिफामा प्रस्ताव पठाएको न्युयोर्क टाइम्सले जनाएको छ । सन् २०२२ मा कतारले आयोजना गरेको विश्वकपमा ३२ राष्ट्रले भाग लिएका थिए ।
दक्षिण अमेरिकी फुटबल संघहरूको प्रस्ताव पारित भए सन् २०३० को विश्वकपमा ६४ राष्ट्रले प्रतिस्पर्धा गर्न अवसर पाउनेछन् । सन् २०३० मा विश्वकप सुरु भएको सय वर्ष पुग्नेछ । यसै उपलब्धमा फिफाले पनि दक्षिण अमेरिकीहरूलाई विश्वकप आयोजना गर्न दिएको छ । उरुग्वेबाट सुरु भएको विश्वकपको शतकीय वार्षिकोत्सव नजिक आउँदा ब्राजिल अहिलेसम्मकै सर्वाधिक पाँचपटकको विजेता हो । दक्षिण अमेरिकाका अर्जेन्टिनाले तीन र उरुग्वेले दुईपटक विश्वकपको ट्रफी उचालेका छन् ।
‘विश्वकपको शतवार्षिक उत्सव भव्य रूपमा मनाउन सबैले चाहेका छन्, अहिले हाम्रोमा ६४ राष्ट्रलाई सहभागी गराउनुपर्ने प्रस्ताव आएको छ,’ फिफाको विज्ञप्तिमा भनिएकोे छ, ‘प्रस्ताव निकै राम्रो छ, तर यसबारे बृहत् अध्ययन हुनुपर्छ ।’ बिहीबार फिफाको केन्द्रीय कार्यालय जुरिचमा अनलाइन मिटिङ बसेको थियो । अनलाइन मिटिङमै दक्षिण अमेरिकी राष्ट्रहरूले ऐतिहासिक विश्वकपलाई बृहत् बनाउनुपर्ने र त्यसमा सहभागी कोटा बढाइनुपर्ने प्रस्ताव राखेका हुन् ।
‘विश्वकप आयोजकमध्ये उरुग्वेले अनौठो प्रस्ताव राखेको थियो, मिटिङमा सहभागी सबै स्तब्ध भए, तर प्रतियोगिताको शतवार्षिकीमा सबैलाई मौका दिनुपर्ने सुझाव आएको थियो,’ फिफाको विज्ञप्तिमा भनिएको छ । उरुग्वेका इगान्सिको अलोन्सोले फिफाका धेरैजसो सदस्यले आफ्नो प्रस्ताव राम्रो रहेको जनाए । विश्वकपको पहिलो संस्करण राष्ट्र उरुग्वेलगायत अन्य राष्ट्रहरूलाई पनि शतवार्षिकी प्रतियोगिता आयोजना गर्न दिइएको हो ।
सन् २०२६ को विश्वकप मेक्सिको, क्यानडा र अमेरिकाले आयोजना गर्दै छन् । त्यसमा ४८ राष्ट्रले भाग लिनेछन् । सन् २०३० को विश्वकपमा ६ राष्ट्र आयोजक हुनेछन् । दक्षिण अमेरिकी राष्ट्रहरू मुख्य आयोजकसँगै स्पेन, पोर्चुगल र मोरोक्को सहआयोजक बन्नेछन् । फिफाले पहिलोपटक एउटै संस्करण ६ राष्ट्रलाई आयोजना गर्न दिएको हो । ‘पाँच वर्षको विश्वकप ऐतिहासिक बनाउन हामी अहिलेदेखि नै तयारीमा छौँ,’ पाराग्वे फुटबल संघका अध्यक्ष अलेजान्द्रो डोमिग्वेजले भने, ‘फिफाकै योजनाअनुसार हामी अगाडि बढिरहेका छौँ ।’ पाँच वर्षपछि आयोजना हुने विश्वकपमा आयोजक राष्ट्रका रूपमा अर्जेन्टिना, उरुग्वे, पाराग्वे, मोरोक्को, पोर्चुगल र स्पेन सीधा छनोट भएका छन् ।
बजेटको आकार बढ्ने
६४ राष्ट्रबिच प्रतिस्पर्धा हुँदा विश्वकपका आकार बढ्ने निश्चित छ । विश्वकप आयोजना गर्न सबैभन्दा ठुलो पक्ष बजेट हो । बजेट पर्याप्त खर्च गर्न नसक्दा प्रतियोगिता खल्लो हुन सक्छ । यस कारण सन् २०३० को विश्वकप आयोजना गर्न अहिलेको तुलनामा बजेटको आकार पनि बढ्नेछ । यद्यपि, ६ राष्ट्रहरू मुख्य आयोजक नहुँदा त्यति समस्या नपर्ला, तर संख्या थपिँदा त्यसमा पुर्न विचार गर्नुपर्ने उरुग्वेका अध्यक्ष अलेजान्द्रोले बताए ।
‘अहिले हामीले खाका बनाएको बजेट नपुग हुन सक्छ, हाम्रो योजना ६४ राष्ट्रबिच प्रतियोगिता आयोजना गर्नु थियो,’ उनले भने, ‘शतवार्षिक उत्सव भव्य बनाउने योजना अगाडि राख्दा बजेटको आकार पनि बढाएको छ ।’ खेलाडीदेखि दर्शक बस्ने होटेलको व्यवस्थापन गर्न चुनौती हुन सक्ने उनले बताए । युरोपमा भनेजस्तो सुविधा छ । युरोपमा धेरैजसो विश्वकपका खेल स्पेन हुने छ । स्पेनले विश्वकप तथा युरोकप आयोजना गरिसकेको छ ।
त्यहाँका रंगशाला विश्वस्तरीय छन् । पछिल्लो समय स्पेनिस क्लबहरूले आआफ्नो घरेलु मैदानलाई स्तरीय बनाइरहेका छन् । विश्वकपअगाडिसम्म ती रंगशाला नयाँ स्वरूपका बन्नेछन् ।
तर, त्यसको तुलनामा दक्षिण अमेरिकाका त्यति छैन । ‘विश्वकपमा ६४ राष्ट्र हुँदा हामीले होटेल संख्या पनि बढाउनुपर्छ, सबै पाँचतारेभन्दा माथि हुनुपर्छ साथै अन्य भौतिक संरचनामा ध्यान दिनुपर्छ,’ अलेजान्द्रोले भने, ‘यसकारण पनि बजेटको भूमिका पनि महत्वपूर्ण देखेको छु ।’
युरोपमा धेरै कोटा
फिफाले सन् २०२६ सम्मको विश्वकपको कोटा निर्धारण गरेको छ । सन् २०३० को विश्वकपमा पनि यही लागू हुनेछ । तर, फिफाले सहभागी संख्या बढाउने निर्णय लिँदा कोटा पनि फरक हुनेछ । सन् २०२६ को विश्वकपमा युरोपबाट सर्वाधिक १६ राष्ट्रले भाग लिनेछन् । त्यसपछि दक्षिण अमेरिकी महादेशबाट नौ राष्ट्र र एसियाबाट आठ राष्ट्रले भाग लिने फिफाले जनाएको छ । उत्तर, मध्य अमेरिका र क्यारिबियन क्षेत्रका ६ राष्ट्र छनोट हुनेछन् । यसैगरी, कन्मेबोल क्षेत्रबाट ६ र ओरिएना फुटबलबाट एक राष्ट्र आगामी विश्वकपमा पुग्नेछन् । यसबाहेक दुई राष्ट्र प्ले अफबाट आउने फिफाले जनाएको छ ।
एक सय २८ खेल हुने
सहभागी राष्ट्र संख्या बढाउँदा खेल पनि बढ्नेछन् । १० कन्मेबोल राष्ट्रहरूले स्थान बनाउन मौका पाउनेछन् । यसको अर्थ हो, भेनेजुएलाले पनि विश्वकप खेल्न सक्छ । अहिलेसम्म भेनेजुएलाले विश्वकप खेलेको छैन । शतवार्षिक विश्वकपमा एक सय २८ खेल हुनेछन् । यसअघि ३२ राष्ट्रबिच प्रतिस्पर्धा हुँदा ६४ खेल भएका थिए । सन् १९९८ देखि २०२२ सम्म एउटै फम्र्याटमा ६४ खेल भएको फिफाले जनाएको छ । सन् २०२६ को विश्वकपमा ४८ राष्ट्रले एक सय चार खेलमा प्रतिस्पर्धा गर्नेछन् । विश्वकपमा थप १६ राष्ट्र संख्या थपिँदा सयभन्दा बढी खेलाडीले अवसर पाउनेछन् । उत्कृष्ट भए पनि उसले प्रतिनिधित्व गर्ने राष्ट्र विश्वकपमा नपुग्दा ती खेलाडीको प्रतिभा केवल क्लबस्तरीय र विश्वकप छनोटसम्म रहेका उदाहरण छन् । तर, पाँच वर्षपछि हुने विश्वकपमा ती अभागी खेलाडीले पनि मौका पाउने अलेजान्द्रोले बताए ।
फिफा अध्यक्ष सकारात्मक
दक्षिण अमेरिकाले राखेको प्रस्तावमाथि फिफा अध्यक्ष गिआनी इन्फान्टिहो सकारात्मक छन् । ‘प्रतियोगिता परिमार्जित हुँदा खेलाडी, राष्ट्र तथा अन्य स्टाफले मौका पाउनेछन्,’ उरुग्वेका अलेजान्द्रोले भने, ‘हाम्रो प्रस्तावलाई अध्यक्षले राम्रो छ भन्नुभयो ।’
अध्यक्ष गिआनीले अनलाइन बैठकमा दक्षिण अमेरिकाको प्रस्तावलाई अध्ययन गर्नुपर्ने बताएका थिए । ‘अध्यक्षज्यूले हाम्रो प्रस्तावमाथि चासो राख्नुभएको थियो, तत्काल यसमाथि निर्णय गर्न नसकिने र अध्ययन हुनुपर्ने बताउनुभयो,’ उनले भने ।
विश्वकपको मुख्य प्रायोजक कोकाकोला हो । साथै, एडिडास तथा वान्डाले पनि निरन्तर रूपमा फिफा विश्वकपलाई सहयोग गर्दै आइरहेका छन् । फिफा र दक्षिण अमेरिकाले चाहे मात्र विश्वकपमा संख्या थपिन सकिँदैन । यसमा मुख्य प्रायोजकहरूको भनाइ पनि आवश्यक पर्छ । उनीहरूले अहिलेसम्म ६४ खेलमा आयोजना हुने विश्वकपमा लगानी गरिरहेका छन् । तर, संख्या थपिँदा प्रायोजकले पनि आफ्नो रणनीति परिवर्तन गर्नुपर्ने फिफाले भनेको छ । फिफामा दुई सय ११ फुटबल संघ छन् । आगामी मे महिनामा फिफाको कंग्रेस बस्नेछ । पाराग्वेमा हुने बैठकमा सहभागी राष्ट्रहरूले दक्षिण अमेरिकाले ल्याएको प्रस्तावमाथि छलफल गर्नेछन् ।