गोरख बक्स गण मंगलसेन ब्यारेक अछामले जनचेतना फैलाउन आगलागी सम्बन्धि कृत्रिम घटना अभ्यास सुरु गरेको छ । सेनाले जिल्लाको ढकारी गाउँपालिकाबाट यो अभ्यास सुरु गरेको हो। गोरख बक्स गणका गणपति प्रमुख सेनानी संगम अधिकारीका अनुसार आगलागीका घटना न्यूनीकरणका लागि जनचेतना फैलाउने उद्देश्यका साथ अछामका १० वटै स्थानीय तहमा संचालन गर्ने लक्ष्यका साथ ढकारीको बुडासैनमा पहिलो कार्यक्रमका रुपमा कृत्रिम घटना अभ्यास गरिएको छ ।
कृत्रिम अभ्यास नेपाली सेनाको अग्नि नियन्त्रण समूहका ४५ जना बढी दक्ष जनशक्तिको सहभागितामा गरिएको थियो । ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउदको अध्यक्षता तथा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँरको प्रमुख आथित्यतामा भएको कृत्रिम अभ्यास कार्यक्रमका लागि बनाइएको कृत्रिम गाउँको चिया पसलबाट सल्किएर बस्ती पसेको आगो नियन्त्रण गरेर सेनाले सर्वसाधारणहरुलाई आगलागी रोकथामका उपाय सिकाएको थियो। जसमा बाँस, खर र अन्य झारपात प्रयोग गरेर बनाइएका घरहरुमा आगो लाग्दा सुरुमा स्थानीयले देखाएको सक्रियता र सेना पुगेर आगो नियन्त्रणमा लिई घाइतेको उद्दार तथा उपचार गरेको दृष्य देखाइएको थियो ।

दुई दिनसम्म गाउँपालिकाका जनप्रतिनिधि र सर्वसाधारणलाई विपद् जोखिम न्यूनीकरण बारे प्रशिक्षणपश्चात गरिएको कृत्रिम घटना अभ्यासले समुदायका मानिसहरु सचेत बनेको भन्दै गाउँपालिका अध्यक्ष साउदले नेपाली सेनलाई धन्यवाद दिए । यसले अब यो सिजनमा हुने हावाहुरी र आगलागीबाट कसरी सचेत रहने भन्ने बारे ज्ञान मिलेको उनले बताए । बदलिँदो मौसमका कारण फैलिने आगोबाट झन ठूलो नोक्सानी हुन सक्ने जोखिम रहेकाले विपद पूर्व तयारी अनुरुप समुदायका सर्वसाधारणलाई जनचेतना पुगोस् भनेर गरिएको यो अभ्यासले जोखिम घटनाउने विश्वास लिइएको छ ।
कार्यक्रममा आगजनीका कारण र समाधानका उपायबारे प्रयोगात्मक जानकारी गराएको थियो । कृत्रिम आगजनी गराएर निभाउने अभ्यास गरेको देखेर स्थानीय महिलाहरुले बढी चासोका साथ अवलोकन गरेको देखिन्थ्यो । सोही अवसरमा गाउँपालिका र सहास नेपालले कृषि मेला प्रदर्शनी समेत गरेका थिए । जहाँ उत्कृष्ट किसानलाई सम्मान गरिनुका साथै किसानका उत्पादहरु समेत प्रदर्शनमा राखिएको थियो ।