म्याग्दीको धवलागिरि गाउँपालिका– ४ मुदी केन्द्रिबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । बिहान ३ बजेर १४ मिनेट जाँदा मुदीलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का धवलागिरि गाउँपालिकाको मुदीका साथै मुना, ताकम, मराङ, मल्कबाङ, दरबाङ, देविस्थानलगायत पश्चिम म्याग्दीसहित आसपासका क्षेत्रमा महसुस भएको थियो ।
विहानीपख सुतिरहेकै अबस्थामा भुकम्पको ठूलो धक्का महसुस भएपछि धेरै मानिसहरु घर बाहिर निस्किएको धवलागिरि गाउँपालिका–४ मुदीका वडा अध्यक्ष यामबहादुर घर्तिले बताए । भूकम्पबाट अहिलेसम्म कुनै मानविय क्षति भएको छैन भने केहि घरहरु चर्किएको खवर आएकाले अवलोकन गर्न लागिएको वडा अध्यक्ष घर्तिले जानकारी दिए ।
यसअघि गत फागुन १३ गते पश्चिम म्याग्दीको डाँडागाउँ आसपास केन्द्रविन्दु भएर ३.४ म्याग्निच्युडको देवीस्थान आसपास केन्द्रबिन्दु भएर ३.४ म्याग्निच्युडको र मुना केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्म गएको थियो । पश्चिम म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकाको विभिन्न ठाउँलाई केन्द्रविन्दु बनाएर भूकम्पका धक्काहरु निरन्तर हुने गरेको छ ।