कोटिहोमको भूमिपूजन रोक्न खोज्दा झडप, १८ जना घाइते

शनिबार, २४ फागुन, २०८१
डिजिटल संस्करण

विवादित धर्मगुरु बालयोगेश्वर विजय कृष्णमूर्ति भनिने विजय भण्डारीको संकल्प एवं अगुवाइमा पोखरामा आयोजना हुने भनिएको कोटिहोमको विषयलाई लिएर दुई महिनादेखि जारी विवादले शुक्रबार झडपको रूप लिएको छ । कोटिहोम आयोजनाका लागि शुक्रबार नेपाल ट्रस्टमातहतको बाराहीघाटस्थित जग्गामा भूमिपूजन गर्न थालेपछि पोखरा महानगरका प्रहरी र आयोजक पक्षबिच झडप भएको हो । अनुमति नलिई कोटिहोमका लागि भूमिपूजन गर्न लागेको भन्दै महानगर प्रहरी रोक्न पुगेको थियो । तर, जसरी पनी भूमिपूजन गरेरै छाड्ने भन्दै आयोजक मानव सेवा फाउन्डेसन नेपालका पदाधिकारी अगाडि बढेपछि झडप भएको हो ।

भूमिपूजन रोक्न पुगेका नगर प्रहरीमाथि फलामका डन्डी, रड, लाठी प्रहरी भएको थियो । त्यसपछि दुई पक्षबिच हानाहान भयो । झडपमा ११ महानगर प्रहरी र आयोजकतर्फका सातजना घाइते भएका छन् । घाइतेको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ । पोखराका मेयर धनराज आचार्यका अनुसार घाइते नगर प्रहरीकोे पोखराको मेट्रो सिटी अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । 

भण्डारी संस्थापक एवं सञ्चालक रहेको फाउन्डेसनले आगामी १७ वैशाखदेखि २६ जेठ ०८२ सम्म फेवाताल किनारको बाराहीघाट र हल्लनचोकस्थित क्याम्पिङ चोकको जग्गामा श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ आयोजना गर्दै छ । तर, महानगरले कोटिहोम सञ्चालनका लागि अनुमति दिएको छैन । कोटिहोममा प्रयोग हुने समिधाका लागि भन्दै महानगर क्षेत्रमा रहेका ऐतिहासिक चौतारा र सडकछेउमा रहेका वरपीपल, समीलगायत रुखका हाँगा अनुमतिबेगर मुठार्ने काम गरेपछि दुई महिनाअघिदेखि विवाद सुरु भएको थियो ।

महानगरले यथास्थितिमा कोटिहोम गर्न नदिने
पोखरा महानगरपालिकाले विज्ञप्ति जारी गर्दै यथास्थितिमा कोटिहोम महायज्ञ गर्न नदिइने जनाएको छ । महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले जारी गरेको विज्ञप्तिमा स्थानीय सरकारको क्षेत्राधिकार उल्लंघन हुने गरी गर्न लागिएको कोटिहोमको सम्पूर्ण कार्यक्रम स्थगत गर्न अनुरोध गरिएको छ ।

सुझावित समाचार