ज्यान मार्ने उद्योग मुद्दामा सर्वाेच्च अदालतले दोषी ठहर गरेपछि पक्राउ परेर जेल चलान भएका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई एक वर्ष कैद छुट हुने भएको छ । फैसला भएको ६० दिनभित्रै फैसला कार्यान्वयन भएको भन्दै जिल्ला अदालत, काठमाडौंले उनलाई २० प्रतिशत कैद छुट दिने निर्णय गरेको हो।
कारागारमा रहेका मनाङले सो सुविधा पाउन माग गर्दै जिल्ला अदालत, काठमाडौंमा निवेदन दिएका थिए। न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले सुविधा दिने फैसला गरेको हो ।
जसअनुसार मनाङे अब एक वर्षपछि कारागारबाट छुट्ने भएका छन्। उनलाई पाँच वर्ष कैद सजाय भएकोमा सो मुद्दामा पटक–पटक गरी यसअघि दुई वर्ष आठ महिना कैद बसिसकेकाले बाँकी दुई वर्ष चार महिना बस्नुपर्ने सर्वाेच्चको फैसला थियो।
गत २० कात्तिकमा सर्वाेच्च अदालतले मनाङेलाई पाँच वर्ष कैद सजाय हुने उच्च अदालतको फैसला सदर गरेको थियो। फैसलालगत्तै फरार भएका उनलाई गत २७ कात्तिकमा केन्द्रीय अनुसन्धान ब्युरोले स्वयम्भूबाट पक्राउ गरेको थियो । पक्राउपछि पनि करिब चार महिना कारागार बसिसकेकाले उनको कैद अवधि अब एक वर्ष बाँकी छ । जसअनुसार उनी ०८२ को फागुनमा छुट्ने भएका छन्।
०६१ सालको वैशाख ३१ गते महाराजगन्जस्थित चुफाङ रेस्टुरेन्टमा मिलन गुरुङ (मिलन चक्रे)लाई खुँडाले आक्रमण गरेको घटनामा मनाङे दोषी ठहर भएका हुन्।
प्रहरीको घटनास्थल मुचुल्का, पीडित मिलन गुरुङले अदालतमा बकपत्र गर्दा मनाङले नै आफूलाई आक्रमण गरेको भनेर किटान गरेको, पीडितसँग पूर्वरिसइवी रहेको, हत्याकै प्रयास गरेको, तर केही हस्तक्षेपका कारण इच्छित परिणाम निस्किन नपाएकोजस्ता आधारमा टेकेर उनलाई अदालतले दोषी ठहर गरेको हो।
सर्वाेच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उनलाई दोषी ठहर गरी पाँच वर्ष कैद सुनाएको थियो।