नेपालका लागि अमेरिकी राजदूतावासले अवैध आप्रवासन खतरनाक रहेको भन्दै आफ्ना प्रियजनलाई सुरक्षित राख्न नेपाली नागरिकलाई आह्वान गरेको छ।
शुक्रबार राजदूतावासद्वारा प्रकाशित सूचनामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई उद्धृत गर्दै भनिएको छ, ‘अवैध आप्रवासन अन्त्य गर्ने र अमेरिकाको सीमा सुरक्षा बलियो बनाउने हाम्रो प्रतिबद्धतामा हामी अटल छौँ।’ अमेरिकाबाट निष्कासनमा परेका १० नेपालीलाई बिहीबार काठमाडौं ल्याएर बुझाएको भोलिपल्ट दूतावासले सूचना जारी गरेको हो।
अमेरिकी राजदूतावासले अमेरिकामा काम गर्न र बस्न धेरै नेपालीले सपना देखिरहेको र एजेन्टहरूको झुटा आश्वासनमा विश्वास गरेर जीवन र पैसा जोखिममा पारेको पनि उल्लेख गरेको छ।
‘धेरै नेपालीहरूले संयुक्त राज्य अमेरिकामा काम गर्ने वा बस्ने सपना देख्छन्, तर अवैध आप्रवासन खतरनाक छ र यसले जीवनलाई नष्ट गर्न सक्छ। हरेक वर्ष, धेरैले रोजगारीका अवसरहरू र भिसाको झुटा वाचा गर्ने एजेन्टहरूलाई विश्वास गरेर आफ्नो जीवन र बचत (पैसा) जोखिममा पार्छन्,’ दूतावासले भनेको छ, ‘धेरैले बाटोमा नजरबन्द, निर्वासन, आपराधिक दण्ड वा जीवनका धम्कीपूर्ण जोखिमहरूको सामना गर्छन्। आफूलाई र आफ्ना प्रियजनहरूलाई सुरक्षित राख्नुहोस्। जोखिम नलिनुहोस्।’