नयाँ प्रशिक्षकसँग खेलाडी उत्साहित

पहिलोपटक अस्ट्रेलियन प्रशिक्षक म्याट रोसबाट प्रशिक्षण लिइरहेको नेपालले दक्षिण एसियाली च्याम्पियनसिपको उपाधि जित्ने प्रमुख लक्ष्य बनाएको छ

शुक्रबार, २३ फागुन, २०८१
डिजिटल संस्करण
नयाँ प्रशिक्षकसँग खेलाडी उत्साहित

दशरथ रंगशालामा प्रशिक्षण गर्दै राष्ट्रिय पुरुष खेलाडी ।

अस्ट्रेलियन प्रशिक्षक म्याट रोसको आगमनसँगै नेपाली फुटबल उत्साहित बनेको छ । ४७ वर्षीय रोसले पहिलोपटक नेपालको सिनियर पुरुष टोली सम्हाल्न लागेका हुन् । समग्रमा उनले मुख्य प्रशिक्षकका रूपमा काम गर्न लागेको यो पहिलोपटक हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिफाको प्रो लाइसेन्स प्रशिक्षक आउँदा नयाँ उपलब्धि हासिल हुने जनाएको छ । ‘नयाँ प्रशिक्षकसँग अन्तर्राष्ट्रिय खेल खेल्न उत्साहित छौँ,’ कप्तान किरणकुमार लिम्बूले नयाँ पत्रिकासँग भने, ‘उहाँ पनि हामीलाई प्रशिक्षण गराउन उत्साहित भएको पाएको छु । उहाँको प्रशिक्षणमा नेपाली फुटबलमा राम्रो हुने अपेक्षा छ ।’ 

पुरुष टोलीले नौ महिनापछि मुख्य प्रशिक्षक पाएको हो । गत असारमा एन्फाले भिसेन्जोको सम्झौता नवीकरण नगरेपछि टोली प्रशिक्षकविहीन थियो । एन्फा प्रवक्ता सुरेश शाहले पनि रोसको आगमनपछि राम्रो नतिजाको आशा गरिएको बताए । गत भदौमा आवेदन परेका ४०५ मध्येबाट एन्फाले रोसलाई मुख्य प्रशिक्षक छनोट गरेको हो । ‘नेपालबाहेक धेरै राष्ट्रका नागरिकले आवेदन दिएका थिए, एन्फाले रोसबाट केही सम्भावना देखेर नै छनोट गरेको हो,’ प्रवक्ता शाहले भने । 

रोसको प्रशिक्षणमा नेपालको आधिकारिक पहिलो खेल एसिया कप छनोटको तेस्रो चरण हुनेछ । सन् २०२७ मा साउदी अरेबियामा हुने एसिया कप छनोटअन्तर्गत नेपालले २५ मार्चमा मलेसियासँग उसैको घरमा खेल्नेछ । एसिया कप तयारीको पूर्वसन्ध्यामा नेपालले २१ मार्चमा सिंगापुरसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण र एसिया कपका लागि नवनियुक्त प्रशिक्षक रोसले प्रारम्भिक रूपमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । 

विश्व फुटबल महासंघ (फिफा)को वरीयतामा नेपालभन्दा ४३ स्थान माथि रहेको मलेसियासँगको प्रतिस्पर्धा चुनौतीपूर्ण हुनेछ । महत्वपूर्ण खेल नजिकिँदै गर्दा पनि एन्फाले खेलाडीलाई कम समयको तयारीमा राखेको छ । इटालियन नागरिक भिन्सेन्जोको सम्झौता गत २९ जेठमा समाप्त भएको थियो । यमनसँग खेलेपछि एन्फाले उनलाई निरन्तरता नदिने निर्णय गरेको थियो । यसैबिच एन्फाले गत २९ कात्तिकमा ताजकिस्तान र अफगानिस्तानसँगको खेलमा नवीन न्यौपानेलाई अन्तरिम प्रशिक्षक बनाएको थियो । एन्फाले विभिन्न चरणमा गरेर पुरुष सिनियर टोलीका मुख्य प्रशिक्षकका रूपमा रोसलाई चयन गरेको हो । 

साफ च्याम्पियनसिप जिताउने लक्ष्य
प्रशिक्षक रोसले आफ्नो पहिलो योजना नै नेपाललाई साफ च्याम्पियनसिप जिताउने बताएका छन् । उनले एन्फासँग एक वर्षको सम्झौता गरेका छन् । ‘हामीले अझै साफ च्याम्पियनसिप जितेका छैनौँ । त्यसैमा मेरो ध्यान केन्द्रित हुनेछ,’ उनले भने । सन् २०२० देखि २०२३ सम्म दक्षिण कोरियाली महिला राष्ट्रिय टोलीका सहायक प्रशिक्षकका रूपमा काम गरेको अनुभव उनीसँग छ । ‘एसिया कपमा पनि केन्द्रित हुनुपर्छ, तर नेपालमा हुँदा दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप नै जिताउने हुनेछ,’ उनले भने, ‘नेपाल एकपटक उपविजेता बनेको छ ।’ ३० असोज ०७८ मा माल्दिभ्समा भएको फाइनलमा नेपाल चिरपरिचित भारतसँग ३–० ले पराजित भएको थियो । 

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पहिलोपटक नेपाललाई साफको फाइनलमा पुर्याएका थिए । एन्फामा वातावरण नभएपछि अलमुताइरी स्वदेश फर्किए । त्यसपछि एन्फाले प्रदीप हुमागाईं र प्रवेश कटवाललाई समान एक खेलमा अन्तरिम प्रशिक्षक बनाएको थियो । 

चुनौती धेरै छन् 
 म्याट रोस, प्रशिक्षक, नेपाल

नेपालको मुख्य प्रशिक्षकका रूपमा काम गर्न एकदमै उत्साहित छु । यहाँको वातावरण निकै मन परेको छ । यसबिचमा सभापित कप, महिला अन्तर्राष्ट्रिय प्रतियोगिता र केपी ओली कपलगायत प्रतियोगिता हेरेँ । यहाँ दर्शकले फुटबललाई निकै माया गरेको पाएँ । समर्थकको ऊर्जाले खेलाडीलाई सफलता दिलाउन सहयोग गर्छ । काम गर्न चुनौती छ । पहिलो लक्ष्य नेपाललाई साफ च्याम्पियनसिप जिताउने हुनेछ । त्यसबाहेक अन्तर्राष्ट्रिय खेल र एसिया कप छनोटमा राम्रो नतिजा निकाल्नेछौँ । 

नयाँ प्रशिक्षकसँग खेल्न उत्साहित छौँ
 किरणकुमार लिम्बू, कप्तान, नेपाल

नयाँ प्रशिक्षकको आगमनसँगै अन्तर्राष्ट्रिय खेल खेल्न उत्साहित छौँ । अहिले मोफसलमा खेलाडी व्यस्त छन् । कति घाइते र रिकभरी हुने अवस्थामा छन् । उहाँको प्रशिक्षणमा राम्रो गर्न तयार छौँ । उहाँले साफ च्याम्पियनसिप जिताउन र एसियन क्वालिफायरमा राम्रो नतिजा निकाल्न मिहिनेत गर्ने बताउनुभएको छ । नयाँ प्रशिक्षकसँग सबैलाई सिक्ने अवसर पनि हो । धेरै ठुला टिमसँग धेरै खेल खेल्यौँ, भविष्यमा त्यहीअनुसारको नतिजा आउनेछ । टिममा नयाँ खेलाडी धेरै छन् ।

सुझावित समाचार