जलाउन खरिद गरेको मेसिन (फर्नेस)मा समेत कमिसनको विवाद भएको छ । चारवटा मेसिन खरिदका लागि कोषले ०८० असोजमा म्याप इन्टरप्रेनर्स प्रालिसँग सम्झौता गरेको थियो । जसअनुसार पाँच करोड ६५ लाख ५४ हजार ७९० रुपैयाँमा खरिद गरिएका दुईवटा मेसिन गत वर्ष नै जडान गरिएका थिए । तर, ठेकेदार, कोषका पदाधिकारी तथा कर्मचारीबिच कमिसनको कुरा नमिलेपछि ती मेसिनको भुक्तानी भएको छैन । ठेकेदारले मेसिनको आवधिक मर्मत पनि गरेको छैन । उल्टै, मेसिन बन्द गर्ने ठेकेदारको चेतावनी छ ।
जलहरीको भ्रष्टाचार मुद्दामा कोषका सदस्यसचिव मिलन थापा निलम्बनमा परेका वेला तत्कालीन निमित्त सदस्यसचिव राजुुकुमार खत्रीले खरिद सम्झौता गरेका थिए । उनले नै २ वैशाख ०८१ मा भुक्तानी गर्ने निर्णय पनि गरेका थिए । तर, पछि अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि सदस्यसचिवमा फर्किएका थापाले भुक्तानी रोके । खरिद प्रक्रियामा कमिसनको खेल रहेका कारण उनले भुक्तनी रोकेको स्रोतको भनाइ छ ।
कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले यसबारे सतर्कताले गरेको छानबिन प्रतिवेदन हेरेपछि प्रक्रिया अघि बढ्ने बताए । ‘गत वर्ष नै दुईवटा फर्नेस मेसिन खरिदको निर्णय भएको रहेछ, त्यसमा भुक्तानी हुन सकेको छैन,’ उनले भने, ‘यसमा सतर्कता केन्द्रले पनि छानबिन गरेको रहेछ । हामीले प्रतिवेदन मागेका छौँ, त्यो हेरेपछि प्रक्रिया अघि बढाउँछौँ ।’ यस विषयमा कोषभित्रै आन्तरिक विवाद पनि छ ।
दोस्रो लटमा थप दुई मेसिन आपूर्ति गर्ने सम्झौता २३ असोज ०८० मा भएको थियो । पहिलो लटकै भुक्तानी नभएकाले पछि कम्पनीले थप मेसिन आपूर्ति गरेको छैन । बरु, भुक्तानी नभए जडान गरिएका मेसिनमा पनि ताला लगाउने चेतावनी दिएको छ । हाल पशुपतिको विद्युतीय शवदाहगृहमा तीनवटा फर्निस मेसिन छन् । म्याप इन्टरप्रेनर्सका सञ्चालक मनोज पुरी आफूहरूको भुक्तानी रोकिनुको कारणबारे जानकारी नभएको बताए । ‘कोषलाई पटक–पटक पत्राचार गरेका छौँ, भुक्तानी नहुनुको आधिकारिक कारण दिएका छैनन्,’ उनले भने ।
सुभाषचन्द्र जोशी
निर्देशक, पशुपति क्षेत्र विकास कोष
गत वर्ष नै दुईवटा फर्नेस मेसिन खरिदको निर्णय भएको रहेछ, त्यसमा भुक्तानी हुन सकेको छैन । यसमा सतर्कता केन्द्रले पनि छानबिन गरेको रहेछ । हामीले प्रतिवेदन मागेका छौँ, त्यो हेरेपछि प्रक्रिया अघि बढाउँछौँ ।