काभ्रेपलाञ्चोक र बागमती प्रदेश राजधानी मकवानपुरको हेटौँडा जोड्ने पुल ठेक्का लागेको आठ वर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका– ५ र मकवानपुरको बागमती गाउँपालिका– ५ सिक्रेदोभानस्थित बागमती नदीमा उक्त पुल निर्माण गर्न ठेक्का लगाइएको थियो ।
दुई वर्षमा निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि हालसम्म पुल निर्माण नभएको हो । पुल निर्माणको ठेक्का लिएको महादेव–शिखर–तामाकोशी–जेभीले समयमा काम सम्पन्न नगरेपछि बर्सेनि प्रदेशस्थित भौतिक पूर्वाधार मन्त्रालयले ताकेता गर्दै आएको छ । सो पुल निर्माणका लागि भ्याटबाहेक ११ करोड ६५ लाखमा ठेक्का सम्झौता गरिएको थियो ।
तत्कालीन जिल्ला विकास समितिको कार्यालय मकवानपुरले आर्थिक वर्ष ०७३/७४ मा ठेक्का लगाएको पुल निर्माण नहुँदा खानीखोला र महाभारत गाउँपालिकाका नागरिकले प्रदेश राजधानी हेटौँडा आवतजावत गर्न सास्ती व्यहोर्नुपरेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।
हालसम्म पिल्लर उठाउने, नदीको बिचमा ‘पाइलिङ’ र काभ्रेपलाञ्चोकतर्फको पिल्लरको पाइलिङ सकिएको छ । निर्माण कम्पनीले हालसम्म ३० प्रतिशत भौतिक काम सकिएको दाबी गर्दै आएको छ ।
‘दुई घण्टामा खानीखोलाको केन्द्र तालढुंगाबाट प्रदेश राजधानी हेटौँडा पुगिन्छ, त्यसैले यहाँ पुल बनेमा निकै सजिलो हुने थियो,’ स्थानीयवासी रामप्रसाद तिमल्सिनाले भने । निर्माण व्यवसायी खड्ग गोपालीले सडक नभएको स्थानमा पुल निर्माणको ठेक्का लगाइएकाले सामग्री ढुवानीका लागि पहिला सडक बनाउँदा केही ढिलाइ भएको बताए ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र भौतिक पूर्वाधार विकासमन्त्री अमनलाल मास्केले उक्त पुल निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् । महाभारत, खानीखोला र बागमती गाउँपालिकाको टोलीले बुधबार मुख्यमन्त्री लामालाई ध्यानाकर्षणपत्र बुझाएका थिए । सो अवसरमा मुख्यमन्त्री लामाले भौतिकमन्त्री मास्केलाई उक्त पुललाई चाँडो सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिए । रासस