रामेछापको कोलन्जोर घाटमा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन । ठेकेदारको लापरबाहीका कारण रामेछापको ‘लाइफलाइन’का रूपमा रहेको यो पुल निर्माण हुन नसकेको हो ।
रामेछापलाई मध्यपहाडी राजमार्गमा जोड्नका लागि रामेछाप नगरपालिकाको रामपुरस्थित कोलन्जोर घाटको सुनकोशी नदीमा निर्माणाधीन यो पुल चार वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने थियो । त्यसयता लगातार म्याद थपिए पनि निर्माण सम्पन्न हुन सकेको छैन । ०७७ मै सम्पन्न हुनुपर्ने उक्त पुलको म्याद यही०८१ साल चैत २० गतेसम्म थपिएको छ । म्याद सकिन एक महिना बाँकी रहँदा बाँकी काम सुरु नै हुन सकेको छैन।
रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले पुल निर्माणका लागि ताकेता गरिरहेको भए पनि व्यवसायीले चासो नगरेको बताए । उनले भने, ‘यो पुल चाँडो सम्पन्न गराउनका लागि धेरैपटक सरकारका विभिन्न निकायमा धाएँ, तर हालसम्म काम सुरु भएन । अन्तिमपटक थपिएको म्याद सकिन पनि अब एक महिना मात्रै छ, तर हालसम्म काम सुरु नै भएको छैन । यसले थप समस्या सिर्जना गरेको छ ।’
सडक विभागको पुल सेक्टर आयोजनाले ०७४ सालमा पुलको ठेक्का लगाएको थियो । शंकरखोला दोभान पुल आयोजना नामको यस पुल ‘डिजाइन एन्ड बिल्ड’ प्रक्रियाबाट निर्माण थालिएको थियो । अनक महावीर जेभीले पुल निर्माणको जिम्मेवारी पाएको थियो । कुल १९० मिटर लामो पक्की पुल निर्माणका लागि रु. २३ करोड ६८ लाख ६७ हजार ३५० (भ्याटसहित) मा सम्झौता भएको थियो ।
यस पुलले मध्य पहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका र रामेछापको रामेछाप नगरपालिका जोड्ने छ । यस पुलको स्ल्याब ढलानको काम भइसकेको छ, तर पुलमा आउने ‘एप्रोच’ सडक पुल नजिक लगाउनुपर्ने ‘रिटेनिङ वाल’ र ‘रेलिङ’को काम भने बाँकी छ । समयमै पुल नबन्दा आफूहरूलाई निकै समस्या भइरहेको स्थानीय कोमल श्रेष्ठले बताए ।
सडक विभाग, पुल आयोजना सेक्टरका इन्जिनियर नेत्रविलाश पौडेलले पुलको काम अगाडि बढाउन कार्यालयबाट पटक पटक मौखिक तथा लिखित अनुरोध गरे पनि निर्माण व्यवसायीले अटेर गरिरहेको बताए। उनले भने, ‘निर्माण व्यवसायीले लगातार काम गर्ने हो भने बढीमा दुई महिनाभित्र पुलको सम्पूर्ण काम सकिन्छ, तर उहाँहरू हामी चाँडै सम्पन्न गर्छौं भन्नुहुन्छ, तर साइडमा कामदार पठाउनहुन्न ।’
सो पुलसँगै काम सुरु भएको ओखलढुंगा जोड्ने सुनकोशी नदीको पुल भने यसअघि नै सम्पन्न भई सञ्चालनमा आइसकेको छ । संघीय सरकार र प्रदेश सरकारले लिखु करिडोर हुँदै रामेछापको गुम्देल पुग्ने सडकका लागि उच्च प्राथमिकता दिई निर्माण गरिरहेको भए पनि यो पुल हालसम्म पनि सञ्चालनमा नआउँदा लक्ष्यअनुसारको उपलब्धिसमेत हुन सकिरहेको छैन । हाल बिपी राजमार्गमार्फत सिन्धुलीको खुर्कोट, रामेछापको मन्थली हुँदै ओखलढुंगाको खिजी फलाटे, गाम्नाङ, घोराखोरीलगायत स्थानहरूमा यातायातका साधनहरू सञ्चालन भइरहेका छन् ।