चुनावमार्फत जेलेन्स्कीलाई हटाउने ट्रम्पको प्रयास हुन सक्छ विनाशकारी

बिहिबार, २२ फागुन, २०८१
डिजिटल संस्करण

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन जारी राख्न मनाउने उद्देश्यले गरेको बहुप्रतीक्षित भेटघाट अपेक्षा गरेकोजस्तो भएन । ट्रम्प र उपराष्ट्रपति जे.डी. भान्सले टेलिभिजन क्यामेराका अगाडि जेलेन्स्की ‘अनादरपूर्ण’ ढंगले प्रस्तुत भएको आरोप मात्र लगाएनन्, रुससँग युद्धविरामका लागि आफ्नो पहललाई स्वीकार नगरेको भन्दै आलोचना गरे । ट्रम्पको शासनकालमा जेलेन्स्कीको वासिंटनसँगको सम्बन्ध सुमधुर नहुने स्पष्ट छ । यो पनि स्पष्ट छ कि ट्रम्पले शान्तिको बदलामा रुसलाई महत्वपूर्ण छुट दिन युक्रेनमाथि अमेरिकी दबाब आगामी दिनमा उल्लेखनीय रूपमा बढ्नेछ । ह्वाइट हाउसमा नोकझोक हुनुभन्दा पहिले पनि ट्रम्प प्रशासनले जेलेन्स्कीको वैधतामाथि प्रश्न उठाइरहेको थियो र युक्रेनमा राष्ट्रपति चुनाव गराउन जोड दिइरहेको थियो । यद्यपि, वर्तमान राष्ट्रपतिलाई हटाउने एक मात्र उद्देश्यका साथ हतारमा चुनाव गर्नु देशका लागि विपत्तिको संकेत हुन सक्छ ।

युक्रेनमा रुसको पूर्णस्तरीय आक्रमणअघि जेलेन्स्कीको राष्ट्रपति पदका लागि अनुमोदन मूल्यांकन २८ प्रतिशत र उनको पार्टीका लागि ११ प्रतिशतजति थियो । रुसको पूर्णस्तरीय आक्रमणले युक्रेनीलाई राष्ट्रपतिको समर्थन गर्न बाध्य तुल्यायो र उनको लोकप्रियता कीर्तिमानी तहमा पुग्यो । यद्यपि, विगत दुई वर्षमा उनको अनुमोदन दर निरन्तर गिरावटमा छ । सर्वेक्षणका अनुसार जेलेन्स्कीमाथिको विश्वास सन् २०२४ को अप्रिलमा ५४ प्रतिशतबाट जनवरीमा ४९ प्रतिशतमा झरेको छ । यद्यपि यो ट्रम्पले दाबी गरेजस्तो भने होइन । तर, मे २०२२ मा उनीप्रतिको विश्वास अधिक थियो । जेलेन्स्कीको घट्दो लोकप्रियतामा धेरै कारक तत्वले योगदान दिएका छन्, जसमा उनको प्रशासनअन्तर्गत व्यापक भ्रष्टाचार र जारी युद्धका कारण बढ्दो थकान समावेश छ । आफ्नो कमजोरीलाई राम्रैसँग बुझेका जेलेन्स्कीले स्पष्ट पारेका छन् कि उनी प्रतिस्पर्धा गर्ने सहज अवस्थामा छैनन् । उनका लागि जोखिम उच्च छ, किनकि यदि उनी पुनः निर्वाचित हुन सकेनन् भने उनीविरुद्ध भ्रष्टाचारको अभियोजन वा आफ्ना प्रतिद्वन्द्वीबाट विभिन्न प्रतिशोध सामना गर्न सक्छन् । यदि तुरुन्तै चुनाव भयो भने उनी हार्नेछन् भन्ने सर्वेक्षणले देखाइसकेका छन् । 

  • राष्ट्रपति चुनावले शान्तिपूर्ण समाजलाई त खतरनाक रूपमा ध्रुवीकरण गरिदिने गर्छ, जुन पछिल्लो समय अमेरिकामै पनि देखियो । युद्धग्रस्त समाजमा यस्तो ध्रुवीकरणले धेरै हानि गर्छ । युक्रेनमा हतारमा गरिने चुनावले खासमा रुसी राजनीतिक योजनालाई सहयोग पुग्न सक्छ ।

जेलेन्स्कीका लागि एक शक्तिशाली प्रतिद्वन्द्वी पहिले नै देखा परेका छन् । उनी हुन् फेब्रुअरी २०२४ सम्म युक्रेनको सशस्त्र सेनाको कमान्डर–इन–चिफको रूपमा काम गर्ने चारतारे जनरल भलेरी जालुझ्नी । यदि जालुझ्नीले राष्ट्रपतिको चुनावमा भाग लिए भने उनले जेलेन्स्कीलाई हराउने सर्वेक्षणले देखाएका छन् । उनीमाथि जनताको विश्वास उच्च छ । जनवरीमा ७२ प्रतिशतले उनीप्रति समर्थन जनाएका थिए । यद्यपि २०२३ मा असफल युक्रेनी प्रतिआक्रमणपछि राष्ट्रपतिले जालुझ्नीलाई बर्खास्त गरे, जुन युक्रेनमा उनको लोकप्रियता पनि एक कारक हुन सक्छ भन्ने अनुमान गरिएको छ । जनरललाई बेलायतमा युक्रेनी राजदूतको रूपमा सेवा गर्न विदेश पठाइएको थियो, जुन पदमा उनी अझै पनि छन् । अहिलेसम्म जालुझ्नीले चुनावमा उम्मेदवारी दिने घोषणा गरेका छैनन्, यद्यपि उनले आफ्नो मन परिवर्तन गर्ने कुनै ग्यारेन्टी छैन । यदि उनी बाहिर रहे भने किरिलो बुडानोभजस्ता अन्य सैन्य व्यक्तित्वले कदम चाल्न सक्छन् । युक्रेनका गुप्तचर प्रमुख बुडानोभको सार्वजनिक विश्वास मूल्यांकन ६२ प्रतिशत छ । एक वर्षसम्म मिडियामा हाई–प्रोफाइल उपस्थितिपछि उनी हालै सार्वजनिक नजरबाट गायब भए । जेलेन्स्कीको कार्यालयले उनलाई हटाउने योजना बनाएको हल्ला फैलिएको छ, जसको परिणामस्वरूप उनी अचानक पछि हटे । तर, अभियान सुरु भएपछि उनी फेरि देखा पर्न सक्छन् । 

बक्सिङ च्याम्पियन ओलेक्जेन्डर उसिक सम्भावित बलियो उमेद्वार बन्न सक्छन् । पूर्वहास्य कलाकार राष्ट्रपति बनेको देशमा एक सफल खेलाडी असम्भव दाबेदारजस्ता देखिँदैनन् । यद्यपि, उनले कुनै पनि राजनीतिक महत्वाकांक्षा सार्वजनिक गरेका छैनन् । मतसर्वेक्षणमा उनको लोकप्रियता ६० प्रतिशतजति छ । त्यसपछि पूर्वराष्ट्रपति पेट्रो पोरोसेन्को छन्, जसको अनुमोदन मूल्यांकन न्यून छ । उनी जेलेन्स्कीको खतरनाक प्रतिद्वन्द्वी बनेका छन् । सन् २०१९ देखि उनीविरुद्ध १३० भन्दा बढी आपराधिक मुद्दा चलाइएको छ, जसमा रुसले कब्जा गरेको डोनबास क्षेत्रबाट कोइला आपूर्ति योजनालाई अनुमोदन गरेकोमा उनलाई देशद्रोहको आरोप लगाइएको छ । पोरोसेन्को जेलेन्स्कीको एक स्पष्ट आलोचक हुन् र उनले आफ्नो राजनीतिक महत्वाकांक्षा लुकाइरहेका छैनन् । उनी अमेरिका गएका छन् र ट्रम्पको टोलीसँग भेटेका छन् । फेब्रुअरीमा जब उनले म्युनिख सुरक्षा सम्मेलनमा जान खोजे, उनलाई अनुमति दिइएन । उनी अब ‘राष्ट्रिय सुरक्षाको आधारमा’ राज्यद्वारा लगाइएको प्रतिबन्धको सामना गरिरहेका छन्, जसमा सम्पत्ति रोक्का पनि समावेश छ । प्रतिबन्धको सन्देश स्पष्ट छ, पोरोसेन्को राष्ट्रपतिको दौड सुरु हुनुभन्दा पहिले नै बाहिरिनेछन् । राजनीतिक उत्पीडनको यस सन्दर्भमा अन्य सम्भावित प्रतिद्वन्द्वी अगाडि आएका छैनन् । प्रतिस्पर्धा गर्न धेरै डराएका छन् ।

विपक्षीलाई जेलेन्स्कीले कसरी सम्हाल्छन् भन्नेबारे चिन्ता बढ्दै गएको छ । तर, अहिलेसम्म उनका सहयोगीबाट कुनै कडा सार्वजनिक आलोचना आएको छैन । ह्वाइट हाउसमा भएको टकरावपछि युरोपेली नेताले उनको समर्थन व्यक्त गरे । यसले जेलेन्स्कीलाई स्वदेशमा अस्थायी रूपमा बढावा दिएको छ, तर यो कति समयसम्म टिक्न सक्छ भन्ने कुरा स्पष्ट छैन । तितो राजनीतिक प्रतिद्वन्द्विता र प्रतिशोधबाहेक युक्रेनी राजनीतिक दृश्य पनि समाजभित्र निरन्तर विभाजनले अंकित छ । युद्धले भावनालाई तीव्र बनाएको छ र देशलाई विभाजित गरेको छ, जसले गर्दा अस्थिर अवस्था सिर्जना भएको छ । अति राष्ट्रवादीहरूले केही भागमा प्रभुत्व मात्र जमाएका छैनन्, युद्धमा सक्रिय सहभागीको रूपमा पनि सशक्त छन् । समाजको अझै पनि एउटा हिस्सा छ, जुन रुस समर्थक झुकाव राख्छ र द्वन्द्व जारी राख्न चाहँदैन । यदि यो अस्थिर अवस्थामा विदेशबाट चुनाव लादियो भने यो रुसी आक्रमण वा युक्रेनको औद्योगिक केन्द्रबिन्दु गुमाउनुभन्दा बढी विनाशकारी साबित हुन सक्छ । खतरा यो मात्र होइन कि एकतिहाइ जनसंख्या मतदान गर्न असमर्थ हुनेछ र चुनावको वैधतामाथि प्रश्न उठ्न सक्छ । वास्तविक खतरा यो हो कि मतदानले एउटै मतपत्र खसाल्नुअघि नै सबैविरुद्ध सबैको लडाइँ सुरु हुन सक्छ । पुनः निर्वाचित हुनेमा सशंकित अहिलेको प्रशासन र परिवर्तनका लागि तत्पर राजनीतिक प्रतिद्वन्द्वीले सामाजिक विभाजन ल्याउन सक्छन् । सेना र सुरक्षा एजेन्सीलाई कदम चाल्न बाध्य पार्न सकिन्छ, जसले सम्भावित रूपमा विस्फोटक मिश्रणलाई थप्छ ।

यदि राष्ट्रपति चुनावले शान्तिपूर्ण समाजलाई खतरनाक रूपमा ध्रुवीकरण गर्न सक्छ भने त्यो हामीले संयुक्त राज्य अमेरिकामा देखेका छौँ । युद्धको समयमा तिनीहरूले धेरै खराब गर्न सक्छन् । युक्रेनमा हतारमा गरिएको चुनावले विदेशी शक्तिको राजनीतिक योजनालाई सहयोग पु¥याउनेछ । सबै युक्रेनीलाई ध्रुवीकरण र द्वन्द्वको सम्भावनाको डरविना स्थायी युद्धविराम भएपछि मतदान गर्ने अनुमति दिनुपर्छ । 

अलजजिराका लागि सर्गे मेडुकोभको आलेख
 

सुझावित समाचार