कागजातविहीन नौ नेपाली अमेरिकाबाट फिर्ता : अमेरिका जान न्यूनतम ४० लाखदेखि एक करोडसम्म खर्च

बिहिबार, २२ फागुन, २०८१
डिजिटल संस्करण
कागजातविहीन नौ नेपाली अमेरिकाबाट फिर्ता : अमेरिका जान न्यूनतम ४० लाखदेखि एक करोडसम्म खर्च

तस्बिर : संजित परियार/नयाँ पत्रिका

अवैध रूपमा प्रवेश गरेको भन्दै अमेरिकाले देशनिकाला गरेका नौ नेपाली नागरिकलाई नेपाल प्रहरीले परिवारको जिम्मा लगाएको छ । उनीहरूलाई अमेरिकी चार्टड विमानले बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइपुर्याएको थियो । त्यसलगत्तै उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोलाई जिम्मा लगाइएको थियो । ब्युरोले उनीहरूलाई बुधबार दिनभर सोधपुछ गरेर साँझ परिवारको जिम्मा लगाएको हो । ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले अमेरिकाबाट फिर्ता भएका नौजनालाई परिवारको जिम्मामा घर पठाएको बताए । 

उनले भने, ‘अमेरिकाबाट डिपोर्ट भएर आएका नौ नेपाली हामीसँग थिए । उनीहरूसँग केही सोधपुछ भयो । त्यसपछि सबैलाई परिवारको जिम्मा लगाएर घर पठाइएको छ ।’

अमेरिकाले आठ नेपालीलाई जहाज चार्टड गरेर नेपाल पठाएको थियो भने एकजना नियमति जहाजमार्फत काठमाडौं उत्रिएका थिए । प्रहरीका अनुसार देशनिकालामा परेकाहरूमा ३५ वर्षीय सुष्मा घर्ती, २३ वर्षीय लक्ष्मण खरेल, २४ वर्षीय सुकुमार पुन मगर, २२ वर्षीय हिमाल विक, २९ वर्षीय मोहन गौतम, ४३ वर्षीय टोप घर्ती, ३७ वर्षीय कमल ओली, तीर्थ थापा र विनिता केसी रहेका छन् । जसमध्ये डोटीका एक, दाङका तीन, रुकुम पूर्वका दुई, रुकुम पश्चिमका दुई र रोल्पाका एकजना छन् । 

ब्युरोका अनुसार अवैध रूपमा अमेरिका प्रवेश गरेको भन्दै उनीहरू पाँचदेखि नौ महिनासम्म अमेरिकन प्रहरीको हिरासतमा थिए । सोही क्रममा उनीहरूलाई नेपाल फिर्ता गरिएको ब्युरोका एसपी कुँवरले बताए । उनले भने, ‘उनीहरू अवैध तवरले अमेरिका पुगेका रहेछन् । पाँचदेखि नौ महिनासम्म उनीहरू अमेरिकी प्रहरीको हिरासतमा बसेको देखिन्छ । कागजात नभएपछि उनीहरूलाई पक्राउ गरिएको रहेछ । सोही क्रममा उनीहरू बुधबार नेपाल आइपुगेका हुन् ।’ब्युरोका अनुसार उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई युरोप हुँदै ब्राजिल पुगेका थिए । यसक्रममा उनीहरूले पर्यटन भिसा प्रयोग गरेका थिए । ब्राजिलबाट भने उनीहरू स्थलमार्ग हुँदै मेक्सिको पुगेका थिए । केही भने जहाजबाट पनि मेक्सिको पुगेका थिए । यस क्रममा उनीहरूले न्यूनतम ४० लाखदेखि एक करोड रुपैयाँसम्म खर्च गरेको प्रहरीको भनाइ छ । 

ब्युरोका प्रवक्ता एसपी कुँवरले भने, ‘यिनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुगेको देखिन्छ । त्यहाँबाट भने युरोप हुँदै ब्राजिल पुगेका छन् । यसबिचमा उनीहरूले टुरिस्ट भिसा प्रयोग गरेका छन् । त्यसपछि भने मेक्सिको पुगेर अमेरिका प्रवेश गरेका छन् । यस क्रममा उनीहरूको ठुलो रकम खर्च भएको देखिन्छ भने जानका लागि मात्रै चार महिनाभन्दा धेरै समय लागेको देखिन्छ ।’ अमेरिकाको सरकारी तथ्यांकले आर्थिक वर्ष ०१९ देखि ०२४ सम्म कुल ३८९ नेपाली नागरिक देशनिकालामा परेको देखाउँछ ।

सुझावित समाचार